६ कम्पनीका ३ करोड ५६ लाख सिम प्रयोगमा

एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले जनसङ्ख्याको १ सय ३४ दशमलव ४१ प्रतिशत प्रयोगकर्ता देखिएका हुन् ।

नेपालमा ६ विभिन्न दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख सिम प्रयोगकर्ताले प्रयोगमा ल्याएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार ६ दूरसञ्चार सेवाप्रदायकका ३ करोड ५६ लाख १० हजार २ सय ९८ सिम प्रयोग भएको छ ।

एउटै व्यक्तिले विभिन्न सेवाप्रदायकको सिम प्रयोग गर्ने भएकाले जनसङ्ख्याको १ सय ३४ दशमलव ४१ प्रतिशत प्रयोगकर्ता देखिएका हुन् । भ्वाइससेवा लिने सेवाग्राहीले प्रतिस्पर्धामा गइरहेको दूरसञ्चार सेवाका लागि विभिन्न कम्पनीको सिम लिने क्रम बढेको हो । प्राधिकरणले पछिल्लो पटक कात्तिक महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दा यस्तो देखिएको हो ।

त्यस्तै फिक्स्ड लाइनमार्फत भ्वाइस सेवा लिने प्रयोगकर्ता ८ लाख ५७ हजार १ सय ६९ पुगेका छन् । फिक्स्ड लाइन र मोबाइलमा भ्वाइस सेवा लिने प्रयोगकर्ता ३ करोड ७३ लाख १४ हजार ७ सय ८३ पुगेको छ । तथ्याङ्कअनुसार नेपाल टेलिकमका १ करोड ८३ लाख ८६ हजार ५ सय ३० प्रयोगकर्ता छन् । यसमा ८ लाख ६ सय २० फिक्स्ड लाइन प्रयोगकर्ता छन् ।

त्यस्तै यूटीएलका ५ लाख २६ हजार ८ सय ७०, एनसेलका १ करोड ६३ लाख ५ हजार ३ सय ७६, सिजिसीका २ हजार ९ सय ८७, एनएसटिपिएलका ३ लाख ७१ ह्जार ६ सय ६८, एसटिपीएलको १७ लाख १९ हजार ६ सय १० र अन्यको १ हजार ७ सय ४२ प्रयोगकर्ता छन् ।

प्राधिकरणका अनुसार १ करोड ६६ लाख ७४ हजार ५ सय २५ डाटा तथा इन्टरनेट प्रयोगकर्ता छन् । यो जनसङ्ख्याको ६२ दशमलव ९४ प्रतिशत हो । मोबाइलमा डाटा प्रयोगकर्ता भने नेपाल टेलिकमका बढी छन् । टेलिकमको मोबाइलमा इन्टरनेट चलाउने प्रयोगकर्ता ८४ लाख ४७ हजार ६ सय ८९ रहेका छन् । त्यस्तै एनसेलका ७२ लाख ५५ हजार ७ सय ३३ प्रयोगकर्ता छन् ।