एक तहको ‘भ्यालु एड’पछि मात्रै निर्यात अनुदान, उद्यमशीलता विकास गर्ने उद्देश्य

सरकारले अहिलेसम्म उत्पादन गरेपछि निर्यात गर्ने उद्योगीलाई नगद अनुदान उपलब्ध गराउँदै आएको थियो । तर, अब एक तहको भ्यालु एड गरेपछि मात्रै अनुदान उपलब्ध गराउने गरी अर्थमन्त्रालय तयारीमा जुटेको छ ।

काठमाडौं । उद्योगीले एक तहको भ्यालु एड (मूल्य अभिवृद्धि) गरेर सामान निर्यात गरेपछि मात्रै सरकारले अनुदान दिने भएको छ ।

सरकारले अहिलेसम्म उत्पादन गरेपछि निर्यात गर्ने उद्योगीलाई नगद अनुदान उपलब्ध गराउँदै आएको थियो । तर, अब एक तहको भ्यालु एड गरेपछि मात्रै अनुदान उपलब्ध गराउने गरी अर्थमन्त्रालय तयारीमा जुटेको छ ।

उत्पादन गर्नेबित्तिकै निर्यात गर्दा नेपालमा थप रोजगारी सिर्जना हुन नसकेको तथा थोरै मात्रै विदेशी मुद्रा आर्जन हुने गरेकाले सरकारले यस्तो व्यवस्था लागू गर्न लागेको अर्थमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उत्पादनलाई एक तह थप प्रोसेसिङ गर्दा एक जना भएपनि रोजगारीको सङ्ख्या बढ्ने र नेपालबाट निर्यात हुने सामान पनि गुणस्तरीय हुने अर्थको बुझाइ छ ।

अहिलेसम्म एक तहको भ्यालु एड गरेर उत्पादन निर्यात गर्ने र उत्पादन हुने बित्तिकै निर्यात गर्ने दुवैलाई अर्थले नगद अनुदान उपलब्ध गराउँदै आएको थियो । नेपालबाट गुणस्तरीय सामान विदेश नगएको र विदेशी मुद्रासमेत सोही अनुसार नआएकाले सरकारले यस्तो गर्न लागेको अर्थका ती अधिकारीको भनाइ छ ।

कतिपय कृषिजन्य उत्पादन विदेशमा निर्यात भइरहेका छन् । त्यो पनि कच्चा पदार्थका रुपमा । अहिले पनि नेपालबाट चियाको पात निर्यात भइरहेको छ । तर, अब एक तहको प्रोसेसिङ भएपछि मात्रै नगद अनुदान पाइने छ ।

उद्यमशीलताको विकास गर्न सरकारले यस्तो गर्न लागेको अर्थ मन्त्रालयले बताएको छ । प्रोसेसिङ गर्ने भन्नेबित्तिकै नयाँ उद्योग स्थापना हुन्छ । त्यहाँ नयाँ रोजगारीको अवसर खुल्छ ।

कुन वस्तुमा अनुदान दिने कुनमा अनुदान नदिने भन्ने बारेमा सरकार अध्ययनमा लागेको छ । नेपालबाट खासगरी, अदुवा, अलैँची, चियालगायतका वस्तु निर्यात भइरहेका छन् ।