राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारु नचल्ने बनाएको हो । २०७५ मङ्सिर २७ गते को मन्त्रिपरिषद वैठकले भारु २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा नरहने निर्णय गरेको थियो ।
काठमाडाैं । सरकारले ठूला भारतीय रुपैयाँ (भारु) नचल्ने निर्णय गरेको झन्डै डेढ महिनापछि मात्रै नेपाल राष्ट्र बैंकले आधिकारिक रुपमा जानकारी दिएको छ । राष्ट्र बैंकले आइतबार एकीकृत परिपत्रलाई संशोधन गर्दै ठूला दरका भारु नचल्ने बनाएको हो । २०७५ मङ्सिर २७ गते को मन्त्रिपरिषद वैठकले भारु २ सय, ५ सय र २ हजार दरका नोट चलनचल्तीमा नरहने निर्णय गरेको थियो ।
नेपालमा कस्ता मुद्रा प्रचलनमा ल्याउने भन्ने आधिकारिक जानकारी दिने निकायका रुपमा केन्द्रिय बैंक रहेको छ । राष्ट्र बैंकले भनेको भारतले २०१६ नोभेम्बर ९ मा भारत सरकारले ५ सय र १ हजार दरका भारु नोट चलनचल्तीबाट हटाएकाले त्यस्ता नोटको कारोबार नगर्न भनेको छ । त्यसैगरी उसले हाल भारतमा चलनचल्तीमा रहेका २ सय, ५ सय र २ हजार दका नोट पनि साथ राख्न, ओसारपसार गर्न र कारोबार गर्न नपाईने उल्लेख गरेको छ । नोटबन्दीपछि भारतले १ हजार रुपैयाँका भारु छापेको छैन भने ५ सय विगतको नोटभन्दा फरक स्वरुप दिएर छापेको छ । त्यसैगरी २ हजार दरका नयाँ नोट निष्कासन गरेको छ ।
नेपालमा सरकारले निर्णय गरेपनि राष्ट्र बैंकले यसमा खासै चासो दिएको थिएन । नेपालमा नेपाली मुद्राको चलनचल्तीलाई बढावा दिन र मुद्रा व्यवस्थापनको जिम्मा लिएर बसेको केन्द्रीय बैंकले ढिला गरेर नयाँ तथा पुराना ठूला दरका भारु नचल्ने जानकारी दिएको हो । यद्यपी केन्द्रीय बैंकले पुराना दरका ठूला भारु नोट यसअघि नै नचल्ने निर्णय सार्वजनिक गरेको थियो ।
केन्द्रीय बैंकले १ सय भारु र त्यसभन्दा साना दरका नोट तथा मुद्रा चलनचल्तीमा लैजान र सटही गर्न सकिने जनाएको छ । तर, नेपाली नागरिकले भारु भारतबाहेक अन्य मुलुकमा लैजानमा र ल्याउन नपाउने केन्द्रीय बैंकले जानकारी दिएको छ । विगतमा ठूला दरका भारु नोट प्रचलनमा रहँदा एकाएक भारतले नोटबन्दी गर्दा नेपालमा रहेका भारु नोट अझै सटही भएको छैन । वित्तीय प्रणालीमा रहेको रकमसमेत सटही नगरेसम्म राष्ट्र बैंकमा भएको करीव ७ करोड रुपैयाँ कागजको खोस्टा सरह भएको छ ।