करमा सबै क्षेत्रलाई कस्दै अघि बढेको सरकारले विदेश उपचार गर्न जाने र पढ्न जाने नेपालीहरु पनि अनिवार्य रुपमा प्यानमा संलग्न भएको हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
काठमाडौं । सरकारले उच्च शिक्षा अध्ययन गर्न र विदेशमा गएर स्वास्थ्य उपचार गर्न स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ । करमा सबै क्षेत्रलाई कस्दै अघि बढेको सरकारले विदेश उपचार गर्न जाने र पढ्न जाने नेपालीहरु पनि अनिवार्य रुपमा प्यानमा संलग्न भएको हुनुपर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै शिक्षा, आप्रवाशन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही गर्दा अनिवार्य रुपमा प्यान लिनुपर्ने व्यवस्था गरेको हो । तर, यस्तो प्यान सम्बन्धित व्यक्तिको नभई उसको एकाघर परिवारका सदस्यमध्ये आमा वा बुबामध्ये कोही एक जनाको भएपनि हुनेछ । विदेशी मुद्रा सटही सुविधा लिँदा सटही सुविधा माग गर्ने वा निजको एकाघर परिवारका सदस्यहरुमध्ये आमा वा बुवा कुनै एक जनाको प्यान पेस गरेमा मात्र परिवत्र्य विदेशी मुद्रा सटही दिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।
त्यसैगरी आइतबारकै निर्देशनमा राष्ट्र बैंकले ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, कार्गो कुरियर एजेन्ट, होटललगायतका संस्थाहरुले विदेशबाट ‘रिप्याट्रियसन’ लिनुपर्ने रकम विदेशी मुद्रा कारोबार भएको १५ दिनभित्र अनिवार्य रुपमा ल्याइसक्नुपर्ने व्यवस्था गरेको छ । यस्तो लिनुपर्ने रकम १५ दिनभित्र ल्याई हरेक त्रैमासिक सकिएको १५ दिनभित्र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागलाई अनिवार्य रुपमा पठाउन पनि केन्द्रीय बैंकले निर्देशन दिएको छ ।