रेलवे, पारवहन र उर्जाक्षेत्रमा सहकार्य

चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) का उपाध्यक्ष झाङ्ग सेनफेङले दुई देशबीच रेल्वे, पारवहन, ऊर्जा, पर्यटनलगायत क्षेत्रमा लगानी गर्न आपूmहरु इच्छुक रहेको बताएका छन् ।

दुईदेशबीच भएका विगतका सहमति र समझदारीकै कार्यान्वयनको सन्दर्भमा आफ्नो नेतृत्वमा करिव ५० सदस्यीय प्रतिनिधि मण्डलले नेपाल भ्रमण गरेको बताए । उनले दुबै मुलुकका नेताहरुले आपसी राजनैतिक विश्वास, संयुक्त रुपमा वेल्ट एण्ड रोड इनिसिएटिभ परियोजनालाई अगाडी बढाउनुपर्ने धारण राखे ।

नेपाल उद्योग परिसङ्घ र सीसीपीआईटीको संयुक्त आयोजनामा आयोजित “नेपाल–चीन व्यापारिक फोरम” को बैठकमा चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व गर्दै आएका सेनफेङ्गले बताए । नेपालका प्रधानमन्त्रीको गतवर्षको चीन भ्रमणको स्मरण गर्दै चीन सबैभन्दा ठूलो व्यापार तथा लगानी प्रवद्र्धन गर्ने संस्थाको हैसियतले सीसीपीआईटीले चीन–नेपाल आर्थिक एवं व्यापारिक सम्बन्ध विस्तारमा जोड दिएको बताए ।
उनले आजको यस फोरमले दुबै देशका उद्यमीहरुलाई आपसी सहयोगको क्षेत्रको आदान प्रदानको लागि मार्ग प्रशस्त गर्दै प्लेटफर्म निर्माण भएकोमा खुसी व्यक्त गरे ।

यसलाई बढी प्रभावकारी बनाउन उनले प्रमुख तीन सुझाव दिँदै द्विपक्षीय व्यापारको दायरालाई निरन्तर रुपमा बढाउनु पर्ने, लगानी सहयोगलाई अन्य विस्तृत गर्नु पर्ने र व्यापार प्रवद्र्धन संस्थालाई अझ बढी सक्रिय भूमिका खेल्न दिनु पर्ने बताए । परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले नेपालमा पूर्वाधार, जलविद्युत र हल्का उत्पादन उद्योगहरुलगायत सेवा क्षेत्रका उद्योगहरुमा लगानी आकर्षित गर्ने प्रचुर मात्रामा सम्भावना रहेको र मुलुकको वैदेशिक लगानी भित्र्याउन हाल भएको औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन, वौद्धिक सम्पत्ति सम्बन्धी कानुन एण्टी डम्पिङ्ग कानुन एवं आर्थिक क्षेत्रसँग सम्बन्धित अन्य कानुनहरुको संशोधन, पुनर्लेखन भइ वैदेशिक लगानीको लागि अनुकूल वातावरण सृजना हुने विश्वास व्यक्त गरे ।

सो अवसरमा उद्योग विभागका महानिर्देशक विनोद प्रकाश सिंहले नेपालको चीनसँगको व्यापारले दोश्रो स्थान ओगटेको र सरकारी नीति नियम व्यापार घाटा कम गर्ने तर्फ लक्षित रहेको र करिव दुई महिना भित्रमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी ऐन संसदबाट पारित भएर औद्योगिक लगानी अनुकूल वातावरण सृजना हुने, एकद्वार केन्द्रबाट सेवा दिन पूर्वाधार तयार भइसकेको बताउँदै नेपालमा जलविद्युत, खानी, निर्माण, उत्पादनमूलक उद्योग, पर्यटन, कृषि, र खाद्य प्रशोधन आदि क्षेत्रमा लगानी प्रचुरतम सम्भावना रहेको हुँदा चिनियाँ लगानी यसतर्फ आकर्षित हुनु पर्ने बताए ।

आफ्नो कार्यपत्र प्रस्तुत गर्दै परिसंघका राष्ट्रिय परिषद सदस्य तथा पूर्वाधार सेलका संयोजक विरेन्द्रराज पाण्डेले नेपालमा व्यावसायिक अवसर पर्याप्त रहेको बताउँदै हाल ५ अर्ब डलर बराबरको लगानी भइरहेकोमा त्यसलाई बढाई १७ अर्ब डलर बराबरको लगानी हुनु पर्ने बताउँदै पूर्वाधार क्षेत्रमा विगतमा भएका कठीनाई हटाउने प्रयास स्वरुप परिसंघले दुइवटा पूर्वाधार सम्मेलन गरिसकेको र २०१९ मा नै निकट भविष्यमा तेस्रो पूर्वाधार सम्मेलन गर्ने योजना रहेको बताए ।

परिसंघका वरिष्ठ उपाध्यक्ष सतिष कुमार मोरले यो फोरमले चुनौतिलाई अवसरमा बदल्ने विश्वास व्यक्त गर्दै एकातर्फ तीव्र विकास गरिरहेको भारत र अर्कोतर्फ आर्थिक पावर हाउसमा विकास भइरहेको चीनबाट यसक्षेत्रका जनताले र नेपालले खास गरी फाइदा लिन पर्याप्त सम्भावना रहेको र भ्रमणदलको भ्रमण सफल हुने शुभकामना व्यक्त गरे ।