फागुन तेस्रो साता कफी लगानी सम्मेलन

अहिले नेपालमा ९० हजार हेक्टर जमिन कफी उत्पादनका लागि अति उत्तम छ । तर, उत्पादनयोग्य जमिन भए पनि अपेक्षित कफीको उत्पादन हुन नसकेको बोर्डले जनाएको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा ५१३ मेट्रिक टन कफी उत्पादन भएको बोर्डको तर्क छ ।

काठमाडौं । आगामी फागुन तेस्रो साता कफी लगानी सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय बजारमा नेपालीको कफीको राम्रो मूल्य भए पनि उत्पादन न्यून भएकाले कफीको उत्पादनमा जोड दिँदै लगानी आकर्षित गर्न सम्मेलन गर्न लागिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ । अन्तर्राष्ट्रिय र निजीक्षेत्रका लगानीकर्तालाई कफी उत्पादनको सम्भावनाबारे जानकारी दिँदै लगानी गर्न सम्मेलन महत्वपूर्ण हुने बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए ।

अहिले नेपालमा ७ हजार कफी क्याफेहरु खुलेको र युवापुस्तामा कफी पिउने बानीको विकास भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा फ्रेस कफी प्रतिकेजी १२ देखि १५ अमेरिकी डलरमा बिक्री हुने भएकाले स्वदेशी माग र विश्वबजारसँग प्रतिस्पर्धा गर्न उत्पादनमा जोड दिनुपर्ने गौतमले बताए । कफी उत्पादन बढाउन ग्रामीण समुदायमा रहेको खाली जग्गा लिजमा लिएर कफी खेती गर्न निजी क्षेत्रलाई आकर्षित गर्न पनि सम्मेलन कोसेढुङ्गा बन्ने उनको तर्क छ ।

लगानी सम्मेलनको मुख्य उद्देश्य सरकार तथा प्रधानमन्त्री केपी ओलीद्वारा कफीमा लगानी गर्न प्रतिबद्ध बनाउनु रहेको गौतमको तर्क छ । ‘सरकारले कफीमा लगानीको वातावरण बनाइदिन प्रतिबद्ध बनाउनु मुख्य उद्देश्य हो,’ उनले भने, ‘अन्तर्राष्ट्रिय तथा निजीक्षेत्रलाई लगानीमैत्री सम्भावना छ भनेर प्रतिबद्ध बनाओस् भन्ने नै हो ।’

अहिले नेपालमा ९० हजार हेक्टर जमिन कफी उत्पादनका लागि अति उत्तम छ । तर, उत्पादनयोग्य जमिन भए पनि अपेक्षित कफीको उत्पादन हुन नसकेको बोर्डले जनाएको छ । गत आर्थिक वर्ष २०७३/०७४ मा ५१३ मेट्रिक टन कफी उत्पादन भएको बोर्डको तर्क छ ।

बोर्डका अनुसार स्वदेशमा ८ हजार मेट्रिक टन कफीको माग भए पनि उत्पादन भने ५१३ मेट्रिक टनमै सीमित छ । विभिन्न अध्ययनका आधारमा नेपालमा करिब ८ लाख हेक्टर जमिन कफी खेतीका लागि उपयुक्त देखिएको बोर्डले जनाएको छ ।

बेरोजारी समस्या, युवा पलायन, परम्परागत, सानो क्षेत्रफलमा खेतीलगायतका कारणले कफी उत्पादन बढ्न सकेको छैन । कफी लगानी सम्मेलन गर्नु सकारात्मक रहेका भन्दै उत्पादन लागत घटाउँदै स्वदेशी माग आपूर्तिमा ध्यान दिनुपर्ने कृषि विज्ञ कृष्ण पौडेलले बताए । स्वदेशी माग धान्न नसकेको अवस्थामा अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकिने पौडेलले बताए ।