नेपाल फर्मा तथा हेल्थ एक्स्पो फागुनमा, २० अर्बको स्वदेशमा उत्पादन २५ अर्बको आयात

प्रदर्शनीमा भारत र चीन, ३० बहुराष्ट्रिय कम्पनीका १२० तथा दश अस्पतालले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीमा पछिल्लो समय विकसित देशमा औषधि उत्पादनमा प्रयोग प्रविधि, प्रयोगशाला तथा उपकरण आकर्षण रहनेछन् ।

काठमाडौ । सातोैं संस्करणको ‘नेपाल फर्मा तथा हेल्थ एक्स्पो’ अगामी फागुन १७ देखि १९ गतेसम्म चितवनस्थित नारायणगढमा आयोजना गरिने भएको छ ।

औषधि उत्पादनका क्षेत्रमा भित्रिएका नवीनतम् प्रविधि तथा नेपाली औषधि उद्योगका बारेमा अन्तर्राष्ट्रिय समुदायलाई जानकारी दिने ध्येयले नेपाल औषधि उत्पादन सङ्घद्वारा आयोजना गरिने सो प्रदर्शनीमा करीब दुई सय प्रदर्शनी कक्ष रहनेछन् ।

प्रदर्शनीमा भारत र चीन, ३० बहुराष्ट्रिय कम्पनीका १२० तथा दश अस्पतालले भाग लिने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदर्शनीमा पछिल्लो समय विकसित देशमा औषधि उत्पादनमा प्रयोग प्रविधि, प्रयोगशाला तथा उपकरण आकर्षण रहनेछन् ।

नेपालमा हाल ५३ वटा औषधि उत्पादन उद्योग रहेका छन् । ती उद्योगबाट करीब २८० भन्दा बढी प्रकारका औषधि वार्षिक रुपमा २० अर्ब रुपैयाँ भन्दा माथिको उत्पादन हुने गर्दछ । नेपाल औषधि उत्पादनमा पछिल्लो समय आत्मनिर्भरको बाटोमा अगाडि बढिरेहको सङ्घले जनाएकोे छ ।

भन्सार विभागको गत वर्षको तथ्याङ्कअनुसार २५ अर्ब रुपैयाँ बराबरको औषधि विदेशबाट आयात भएको थियो । अर्कोतर्फ नेपालमा हाल ३५ वटा कलेजमा औषधि उत्पादनसम्बन्धी (फर्मासिस्ट) को अध्ययन अध्यापन हुने गरेको छ ।

यस पटकको प्रदर्शनीमा मरणोपरान्त अङ्गदानका लागि सामाजिक अभियान सञ्चालन गरिने र हजारले अङ्ग दान गर्ने अपेक्षा आयोजकले राखेको छ । यसका लागि सङ्घले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रसँग सहकार्य गरेको छ । मस्तिष्क मृत्यु भएपछि पनि मुटु, फोक्सो, सानोआन्द्रा, कलेजो, अग्नाशय, मिर्गौला, आँखालगायत अङ्ग निश्चित समयभित्र उपयोगमा ल्याउन सकिन्छ । यसका लागि अङ्गदानसम्बन्धी ऐन तथा नियमावली कार्यान्वयनमा आइसकेको छ ।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दीपक दाहालले नेपाली औषधि उद्योगबाट विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको कुशल उत्पादन प्रविधिबाट उत्पादन भइराखेका जानकारी दिँदै सरकारले केही सुविधा दिए नेपाल औषधिमा आत्मनिर्भर हुने बताए।

सङ्घका महासचिव उज्वलराज पाण्डेले औषधि आयातलाई क्रमशः विस्थापन गर्दै स्वदेशी उद्योगबाट आत्मनिर्भर हुने नीति सरकारले लिनुपर्नेमा जोड दिए । मेला संयोजक नारायणबहादुर क्षेत्रीले प्रदर्शनीले नेपाली औषधि उद्योगलाई थप प्रवद्र्धन गर्ने विश्वास व्यक्त गरे । प्रदर्शनीमा करीब ५० हजारले अवलोकन गर्ने विश्वास गरिएको छ ।
रासस