नयाँ उद्यमी जन्माउन ‘उद्यमशीलता सम्मेलन’ हुँदै, चार सय जना सहभागी

अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको छ । 

काठमाडौं । देशभित्र नयाँ उद्याेगी नजन्मिरहेका बेला नेपाल उद्याेग परिसङ्घले नयाँ उद्यमी जन्माउन काठमाडाैंमा नेपाल उद्यमशीलता सम्मेलन गर्ने भएकाे छ ।

परिसङ्घले सातै प्रदेशका उद्याेगमन्त्री बाेलाउनुका साथै देशभरबाट ४ सय जना मानिसलाइ सहभागी गराउँदै छ । अर्थमन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, विशाल मिडिया ग्रुप र नेपाल उद्योग परिसङ्घको संयुक्त आयोजनामा आगामी फागुन २ गते काठमाडौँमा सम्मेलन गर्न लागिएको छ ।

सम्मेलनमा उद्योगी, व्यवसायी, सरकारी प्रतिनिधि, विज्ञ, विद्यार्थी तथा सातै प्रदेशका उद्योगमन्त्रीसहित ४०० बढी प्रतिनिधिको सहभागिता रहने सो अवसरमा परिसङ्घका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए ।

“सरकारको ध्यान पनि समृद्ध राष्ट्र निर्माणको अभियानमा छ, हामी पनि उद्योग व्यवसायको विकास होस् भन्ने चाहन्छौँ, खासमा हामीले नेपालमा औद्योगिक वातावरण बनाउन चाहेका छौँ, त्यसैका लागि यो सम्मेलन हो”, शर्माले भने । सम्मेलनपछि सातै प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गर्ने योजना रहेको जानकारी दिँदै उहाँले त्यसका लागि प्रदेशमा के के सम्भावना छ भनेर सबै उद्योगमन्त्रीलाई समेत भेला गर्न लागिएको जानकारी दिए ।

उद्योग विभागका महानिर्देशक विनोदप्रकाश सिंहले सातै प्रदेशमा के सम्भावना छ भन्ने कुराको पहिचान नभएसम्म प्रदेशमा उद्यमशीलता विकास नहुने भएकाले सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे । “नेपालमा पूँजी छैन भन्ने होइन, तर उद्यमशीलतामा लगानी गर्न अझै हिच्किचाहट छ”, महानिर्देशक सिंहले भने, “यस्तो बीचमा हुन लागेको सम्मेलन आफैँमा महत्त्वपूर्ण छ ।” उनले लगानी वृद्धि नगरी उत्पादन वृद्धि नहुने र उत्पादन वृद्धि नभए निर्यात पनि बढाउन नसकिने भएकाले युवा उद्यमीलाई व्यवसायमा सहभागी गराउनु जरुरी रहेको बताए । धेरै ऐन उद्योगमैत्री बनाएर संशोधनको तयारीमा रहेको जानकारी दिँदै सिंहले त्यसपछि एउटा वातावरण तयार हुने उल्लेख गरे ।

युवा उद्यमी विशाल गैरेले सम्मेलन सकिएपछि सन् २०१९ भित्रै सात प्रदेशमा प्रदेशस्तरीय सम्मेलन गरेर लगानीको वातावरण सिर्जना गर्न पहल गरिने बताए । पछिल्लो समयमा घर, जग्गा तथा सटरमा लगानी बढ्दो रहेको भन्दै यसलाई विस्थापित गरेर उद्योग व्यवसायमा लगानी गर्न प्रेरणा जगाउनुपर्नेमा व्यवसायीको जोड थियो ।

कार्यक्रममा परिसङ्घका बरिष्ठ उपाध्यक्ष शतीस माेरले नेपालमा उद्यमशीलनाकाे खडेरी लागेकाे बताए । नयाँ उद्यमी नजन्मिने हाे भने देश अार्थिक रूपमा सम्पन्न हुन सक्दैन । देशकाे अायस्तर बढन सक्दैन । परिसङ्घले नयाँ उद्यमी जन्माउनका लागि सम्मेलन गर्न लागेकाे बताए । कुन प्रदेशमा के के समस्या छ, के के सम्भावना छ, त्यसकाे बारेमा समेत सम्मेलनमा छलफल हुने माेरकाे भनाइ छ ।