भैरहवा सेजले सब स्टेसन नबनाइदिँदा उद्योगले दुई वर्षमा पनि विद्युत् नपाउने

प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोईकुटी सब स्टेसनदेखि सेजसम्म छुट्टै ३३केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानुपर्ने भएकाले वनका कारणले काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् ।

विद्युत् प्राधिकरणले भैरहवाको विशेष आर्थिक क्षेत्र (सेज)सम्म चैतभित्रमा विद्युत् पुर्याउने भएको छ । तर, त्यहाँ स्थापना हुने उद्योगका लागि विद्युत् दिनका लागि सेजले बनाउनुपर्ने ३३/११ केभीको सब स्टेसन (१० एमभीए) निर्माण प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन ।

यसले गर्दा प्राधिकरणले भैरहवा सेजसम्म विद्युत् पु¥याए पनि सब स्टेसन नहुँदा त्यहाँ स्थापना हुने उद्योगले विद्युत् भने पाउने छैनन् ।
प्राधिकरणको कार्यक्षेत्र (स्कोप) सेजसम्म विद्युत् पुर्याउन ट्रान्समिसन लाइन निर्माण गर्ने मात्रै हो । त्यसपछि सब स्टेसन बनाएर उद्योगलाई विद्युत् वितरण गर्ने काम भैरहवा सेजको स्कोपभित्र पर्छ । भैरहवा सेजले त्यहाँ सब स्टेसन बनाउने र ११ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत् दिनेछ । सब स्टेसन निर्माणका लागि अहिलेसम्म टेण्डरसमेत भएको छैन ।

प्राधिकरणले अहिले निर्माण गरिरहेको सब स्टेसनको अनुभव हेर्दा टेण्डर गरी ठेकेदार नियुक्त गर्न कम्तीमा पनि ६ महिना लाग्छ । त्यसपछि सामान अर्डर गरी ठेकेदारलाई काम सक्न छिटोमा १५ देखि १८ महिना लाग्छ । अर्थात् सामान्य अवस्थामा टेण्डरका सम्पूर्ण प्रक्रिया सकेर सब स्टेसन निर्माण सम्पन्न गर्न कम्तीमा पनि दुई वर्ष लाग्ने प्राधिकरणको अनुभव छ ।

विद्युत् प्राधिकरणलाई दोषी देखाएर सेज व्यवस्थापन आफ्नो मुख्य जिम्मेवारीबाट भाग्न खोजिरहेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । ‘त्यहाँ खोलिने उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत् दिइसकेका छौं, त्यसैले निर्माणका काम गर्न कुनै समस्या छैन,’ उनले भने, ‘चैत्रभित्रमा हाम्रो स्कोपभित्रको प्रसारण लाइन बनाएर त्यहाँ विद्युत् पुर्याउँछौं । सेज व्यवस्थापनले सब स्टेसन बनाउन कामचाहिँ नगर्ने अनि विद्युत् जोडिएको छैन भन्दै हामीलाई दोषी देखाउँदै आफ्नो जिम्मेवारीबाट भाग्ने ?’

हाल त्यहाँ रहेको ३३ केभी सिङ्गल सर्किट प्रसारण लाइनमार्फत सेजलाई विद्युत् दिन क्षमताले नथेग्ने भएपछि प्राधिकरणले छुट्टै प्रसारण लाइन बनाउन लागेको हो ।  प्राधिकरणले तिलोत्तमा नगरपालिकाको जोईकुटी सब स्टेसनदेखि सेजसम्म छुट्टै ३३केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरिरहेको छ । जोइकुटी–भरौलिया खण्डमा वन क्षेत्र भएर प्रसारण लाइन लैजानुपर्ने भएकाले वनका कारणले काम अवरुद्ध भएको छ । भरौलिया–दगदही खण्डमा प्रसारण लाइनको रुट परिवर्तन गर्न माग गर्दै स्थानीयले अवरोध गरेका छन् । अवरोध हटाएर काम सुचारु गराउन उद्योग, वन मन्त्रालय, स्थानीय जनप्रतिनिधि, स्थानीय बासिन्दालगायत सरोकारवालाबीच छलफल भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

‘अवरोध हटाएर जसरी पनि चैतसम्ममा सेजमा लाइन पुर्याउँछौं, सेजमा उद्योग स्थापना गर्न सम्झौता गरेका कम्पनीलाई हाम्रोतर्फबाट कुनै समस्या हुँदैन,’ उनले भने, ‘तर, सेजका तर्फबाट गर्नुपर्ने काम नै अगाडि बढेको देखिँदैन । उद्योगको काम गर्न कन्स्क्सन पावर दिएकै छौं, तर पनि काम भएको छैन, अब त्यसो भए प्रसारण लाइन नै छैन भनेर प्रधिकरणसँग पीपीए गरेका कुनै पनि जलविद्युत कम्पनीले आयोजना नै नबनाउने त ?’
सेजमा उद्योग खोल्न सम्झौता गरेका १९ कम्पनीलेसमेत विद्युत नभएको भन्दै काम नै गरेका छैनन् । तर, उद्योगका संरचना निर्माणका लागि आवश्यक पर्ने विद्युत भने ११ केभी लाईनमार्पत उपलब्ध गराइएको प्राधिकरणले प्रस्ट पारेको छ ।