विश्व बैङ्कको ४५ अर्ब रुपैयाँ सहयोग

खासगरी व्यावसायिक शिक्षा र प्रशिक्षण परियोजना २ (इभेन्ट २०) पशुधन क्षेत्र स्तरोन्नति परियोजना (एलएसआर्इपी) र भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निमाण परियोजना (ईएचआरपी) परियोजना सञ्चालनका लागि सो रकम खर्च हुनेछ ।

विश्व बैङ्कले नेपालमा सञ्चालित तीन परियोजनाका लागि ४४ अर्ब ८२ करोड रुपैयाँ (४४ करोड अमेरिकी डलर) सहयोग दिने भएको छ । सरकार र विश्व बैङ्कका प्रतिनिधिबीच सहयोग आदानप्रदान सम्बन्धमा आइतबार हस्ताक्षर भएको हो । खासगरी व्यावसायिक शिक्षा र प्रशिक्षण परियोजना २ (इभेन्ट २), पशुधन क्षेत्र स्तरोन्नति परियोजना (एलएसआइपी) र भूकम्पबाट क्षतिग्रस्त आवास पुनर्निमाण परियोजना (ईएचआरपी) परियोजना सञ्चालनका लागि सो रकम खर्च हुनेछ ।

व्यावसायिक शिक्षा र प्रशिक्षण परियोजनामा ६ करोड डलर खर्च गरी विद्यार्थीको क्षमता विस्तारमा सहयोग पु¥याउनेछ । प्राविधिक शिक्षालय र त्यसका नेतृत्वकर्ता, प्रशिक्षक, विद्यार्थी र छोटो अवधिको तालिम लिन चाहने १६ देखि ४० वर्ष उमेर समूहका नेपाली लाभान्वित हुनेछन् । त्यस्तैगरी पशुधन क्षेत्र विकास कार्यक्रममा ८ करोड डलर खर्च हुनेछ । यसले उत्पादकत्व वृद्धिमा सहयोग पु¥याउने र छानिएका कृषि उद्यमशील ससाना फर्म लाभान्वित हुनेछन् । यो परियोजना मुलुकका २५ जिल्लामा सञ्चालन हुनेछ ।

त्यसैगरी ३० करोड डलरमध्ये २० करोड डलर यसअघि विश्व बैङ्कको घोषणा गरेअनुरूपको सहयोग हो भने बाँकी रकम राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमार्फत ९६ हजार भूकम्पबाट प्रभावित निजी घर निर्माणमा उपयोग हुनेछ । सहयोगसम्बन्धी सम्झौतामा अर्थसचिव शङ्करप्रसाद अधिकारी र विश्व बैङ्कका देशीय निर्देशक किमिओ फानले हस्ताक्षर गरेका छन् ।