भाइबरमा ग्रुप बनाएर ‘४० प्रतिशत हकप्रद सेयर आउँछ, हकप्रद सेयर किन्नुस् राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मा हाम्रो भो’ भन्ने आसयको म्यासेज पठाएको आरोपमा बोर्डले प्रज्ञानलाई आर्थिक जरिवाना तिराएको हो ।
नेपाल धितोपत्र बोर्डले व्यावसायिक आचरण पालना नगरेको भन्दै धितोपत्र दलाल व्यवसायी प्रज्ञान सेक्युरिटीजलाई ७५ हजार रुपैयाँ जरिवाना गरेको छ । २०७४ जेठ ४ गतेका लागि तोकिएको सिभिल बैङ्कको साधारणसभाअघि नै भाइबरमा ग्रुप बनाएर ‘४० प्रतिशत हकप्रद सेयर आउँछ, हकप्रद सेयर किन्नुस् राम्रो फाइदा हुन्छ, फाइदा गराउने जिम्मा हाम्रो भो’ भन्ने आसयको म्यासेज पठाएको आरोपमा बोर्डले प्रज्ञानलाई आर्थिक जरिवाना तिराएको हो ।
प्रज्ञानले आफ्नो शाखा कार्यालयको कामकारबाहीलाई सूक्ष्म रूपमा अनुगमन नगरी व्यावसायिक आचरण कायम गराउन नसकेको र संस्थाले व्यावसायिक स्तर कायम गरेको नदेखिएको भन्दै बोर्डले धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (७) बमोजिम आर्थिक जरिवाना गरेको जानकारी दिएको छ । बोर्डले आफूकहाँ आएको उजुरीमा छानबिन गर्दा विराटनगर शाखा दोषी देखिएकाले कारबाही गर्नुपरेको आइतबार जारी विज्ञप्तिमा उल्लेख छ । प्रज्ञानले २०७३ चैतदेखि विराटनगरमा शाखा कार्यालय स्थापना गरेको थियो ।
बोर्डले पछिल्ला दिनमा बजार अनुगमन तथा सुपरिवेक्षणलाई तीव्रता दिँदै आएको छ । सोहीअनुरूप कारबाहीसमेत गर्दै आएको छ । दलाल व्यवसायीले नै लगानीकर्ता ठग्ने गरी व्यावसायिक आचरण पालना नभएको भन्दै कारवाही गरेको भने यो पहिलो पटक हो । यसअघि बोर्डले हुँदै नभएको सेयर प्रमाणपत्रमा कारोबार गरेको भन्दै दुई दलाल कम्पनीलाई कारबाही गरेको थियो । बोर्डले बजारमा गलत हर्कत गर्ने संस्था, समूह र व्यक्तिलाई कारबाहीको दायरामा ल्याउँदा सबैले आफ्नो कर्तव्य महसुस गर्ने हुँदा दोस्रो बजार कारोवार थप स्वच्छ र पारदर्शी हुन सहयोग पुग्ने अपेक्षा गरेको छ ।
नेप्सेमा समान्य गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक यो साताको पहिलो दिन आइतबार सामान्य अ्कले घटेको छ ।
आइतबार नेप्से ३.८५ अङ्कले ओरालो लागेर १४०२.६७ अङ्कमा रोकिएको छ । गत साताभर ३३ अङ्कले घटेको नेप्से यो साताको पहिलो दिन पनि घट्दो क्रममा नै देखिएको हो । आइतबार बैङ्क, विकास बैङ्क र लघुवित्त कम्पनीको सेयर मूल्यमा गिरावट आएपछि समग्र बजार सूचक नकारात्मक भएको हो । सूचीकृत कम्पनीको पुस मसान्तको वित्तीय विवरण सार्वजनिक हुन थालेपनि त्यसको असर नेप्सेमा पर्न सकेको देखिँदैन ।
आइतबार कारोबार सुरु हुँदा सकारात्मक रहेको नेप्से धेरै समय टिक्न सकेन । कारोबार करिब एक घण्टासम्ममा करिब ७ अङ्कले वढेको थियो । तर, केही समयपछि घट्न थालेको नेप्से कारोबार बन्द हुँदासम्म कायम रह्यो । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।
आइतबर नेप्सेका कारोबार भएका बैङ्किङ २.५७, विकास बैङ्क ५.१, जलविद्युत ७.०८, बिमा ७५.९९ र माइक्रो फाइनान्स समूहमा १२.१७ अङ्कले घटेका छन । तर, व्यापार २.०२, होटल २५.३३, उत्पादनमूलक ३०.९७, अन्य १.७६ र वित्त २.३२ अङ्कले बढेका छन ।
आइतबार कारोबार रकम भने ५० करोड ६१ लाख रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साता नेप्सेको औसत दैनिक कारोबार रकम करिब ४० करोडभन्दा बढी हो । आइतबार नेप्सेमा १६५ कम्पनीको ४ हजार ८ सय ९७ कारोबारबाट १६ लाख ७६ हजार १ सय १६ कित्ता सेयर किनबेच भएको छ ।