काठमाडौंको गौशालाबाट १ किलो सुनसहित ६ जना पक्राउ

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बुधबार राति वैदेशिक रोजगारीबाट फर्केकाहरुमार्फत ल्याइएको भन्सार छलीको करिब एक किलोबराबरका ९ थान सुनका बाला बरामद गरेको हो ।

कामठाडौं । प्रहरीले काठमाडौंको गौशालाबाट भन्सार छली गरिएको एक किलो सुनसहित ६ जनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरी टोलीले बुधबार राति वैदेशिक रोजगारीबाट फर्केकाहरुमार्फत ल्याइएको भन्सार छलीको करिब एक किलोबराबरका ९ थान सुनका बाला बरामद गरेको हो ।

पक्राउ पर्नेमा सिराहा लोहरपट्टी नगरपालिका ४ का ३९ वर्षीय गौरीशङ्कर यादव, सिराहा कल्याणपुर नगरपालिका ६ का ३५ वर्षीय सुरेशप्रसाद यादव, धनुषा हंसपुर नगरपालिका ६ का ३२ वर्षीय शम्भुकुमार साह, महोत्तरी इनरुवा गाउँपालिका ९ का ४७ वर्षीय रामवीर यादव, धनुषा लक्षुमनीया गाउँपालिका १ का ४९ वर्षीय शिवशङकर यादव र महोत्तरी इनरुवागाउँपालिका ९ का २९ वर्षीय सुनिल पण्डित छन् ।

उनीहरुलाई काठमाडौं महानगरपालिका ९ एन्जल गेष्ट हाउस र पिङ्गलास्थानबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले बताए ।

वैदेशिक रोजगारीबाट फर्केकाहरुले ल्याएको भन्सार छलीको सुन सङ्कलन गरी राखेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

पछिल्लो समयमा सुन तस्करले घर बिदामा फर्कने वैदेशिक रोजगारीमा गएकाहरुलाई प्रयोग गर्दै सुन तस्करी गर्ने गरेको भेटिएको छ ।