कम्पनीले तयार पारेको ५ वर्षे व्यावसायिक योजनामा निजी क्षेत्रमा स्वपुँजी (इक्विटी), सरकारी निकायमा इक्विटी तथा निजी क्षेत्रले बनाउने जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने जानकारी दिएको छ । गत साउनबाट सुरु भएको व्यावसायिक योजना आर्थिक वर्ष ०८०/०८१ सम्म रहने एचआईडीसीएलले जनाएको छ ।
काठमाडौं । सार्वजनिक निजी साझेदारीमा स्थापना भएको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले आउँदो ५ वर्षमा जलविद्युत आयोजनामा ३६ अर्ब २६ करोड रुपैयाँ लगानी गर्ने भएको छ । एचआईडीसीएलले ३ हजार २३८ मेगावाट क्षमताका आयोजना बनाउन स्वपुँजी र ऋण गरी सो रकम लगानी गर्ने भएको हो ।
कम्पनीले तयार पारेको ५ वर्षे व्यावसायिक योजनामा निजी क्षेत्रमा स्वपुँजी (इक्विटी), सरकारी निकायमा इक्विटी तथा निजी क्षेत्रले बनाउने जलविद्युत् आयोजनामा ऋण लगानी गर्ने जानकारी दिएको छ । गत साउनबाट सुरु भएको व्यावसायिक योजना आर्थिक वर्ष ०८०/०८१ सम्म रहने एचआईडीसीएलले जनाएको छ ।
निजी क्षेत्रका ५६५ मेगावाट क्षमताका आयोजना बनाउन ५ अर्ब ९ करोड स्वपुँजी, सरकारी लगानीमा १ हजार ६४० मेगावाट क्षमताका आयोजनामा १६ अर्ब ७१ करोड र निजी क्षेत्रमा १ हजार ३३ मेगावाट क्षमताका आयोजना बनाउन १४ अर्ब ४६ करोड रुपैयाँ लगानी गर्ने एचआईडीसीएलका नायब महाप्रबन्धक अरुण रजौरियाले बताए ।
यी आयोजनामा लगानी जुटाउन शतप्रतिशत हकप्रद सेयर निष्कासन, एसियाली विकास बैङ्क (एडीबी) र एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैङ्क (एआईआईबी) लगायत अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट लगानी जुटाउने रजौरियाले जानकारी दिए । यस्तै कम्पनीले ऋणपत्र जारी र सामूहिक लगानी कोष स्थापनाको तयारी गर्ने भएको छ । वैदेशिक रोजगारीमा गएका नेपालीबाट प्राप्त हुने रकम जलविद्युतमा लगानी गर्नका लागि रेमिट् हाइड्रो लिमिटेड स्थापना भएको छ ।
उनका अनुसार यो वर्ष ३५८ मेगावाट क्षमताका आयोजनामा ५ अर्ब ९४ करोड, आगामी वर्ष ६ अर्ब, त्यसपछिका तीन वर्षमा क्रमशः ९ अर्ब ७१ करोड, ७ अर्ब ५४ करोड, ८ अर्ब ८ करोड रुपैयाँ लगानी हुने उनले सुनाए ।
पाँच वर्षे योजनाको पहिलो सालमा निजी क्षेत्रबाट १३५ मेगावाट क्षमताका ४ ओटा आयोजनाको स्वपुँजी लगानी प्रस्ताव प्राप्त भई अध्ययन जारी रहेको उनले बताए । सरकारी निकायबाट ३७२ क्षमताको दुई आयोजनामा स्वपुँजी लगानीका लागि आवश्यक गृहकार्य भइरहेको छ । यस्तै ऋण लगानीमा ४२९ मेगावाट क्षमताका आयोजनामा ४ अर्ब २९ करोड रुपैयाँ ऋण लगानीको प्रस्तावमा छलफल भइरहेको छ । यस्तै ३७ मेगावाटको अपरत्रिशूली ३ बी जलविद्युत् आयोजनामा सहवित्तीयकरणअन्र्तगत १ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी सम्झौता भइसकेको छ । यस्तै ९९ मेगावाटको तामाकोसी पाँचौ आयोजनामा पनि लगानी गर्ने तयारी एचआईडीसीएलको छ ।
एचआईडीसीएल २२ अर्बको कम्पनी
एचआईडीसीएलको गत पुस ३० गते सम्पन्न साधारणसभाले शतप्रतिशत हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गरेपछि व्यवस्थापनले यसको प्रक्रिया अघि बढाएको नायब महाप्रबन्धक रजौरियाले बताए । उनले २० अर्ब रुपैयाँ पुँजी भइसकेको र हकप्रदपछि २२ अर्ब रुपैयाँ पुग्ने र आगामी केही वर्षमा बढाएर ३० अर्ब रुपैयाँ पुर्याउने जानकारी दिए ।
यस्तै २ अर्ब रुपैयाँ बराबरको बोनस सेयर जारी गरेर पुँजी बढाएको छ । कम्पनीले ५४१ मेगावाट क्षमताका १४ ओटा आयोजना बनाउन १ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेको छ भने ७ अर्ब ८८ करोड ६० लाख रुपैयाँ लगानीको तयारी भइरहेको छ । ४ ओटा सार्वजनिक कम्पनीमा ३४ करोड ९० लाख रुपैयाँ सेयर लगानी गरेको छ ।