पछिल्लो समय विदेश जाने नेपालीको सङ्ख्या घटे पनि रेमिट्यान्स रकममा चामत्कारिक वृद्धि देखिएपछि सरकारले रेमिट्यान्स कम्पनीहरुमाथि यसअघिको कारोबारलाई खोतल्न थालेको हो ।
काठमाडौं : रेमिट्यान्स कम्पनीहरुले नै हुन्डी कारोबारलाई प्रश्रय दिएको आशङ्कामा सरकारले निगरानी थालेको छ । पछिल्लो समय विदेश जाने नेपालीको सङ्ख्या घटे पनि रेमिट्यान्स रकममा चामत्कारिक वृद्धि देखिएपछि सरकारले रेमिट्यान्स कम्पनीहरुमाथि यसअघिको कारोबारलाई खोतल्न थालेको हो ।
खासगरी रेमिट्यान्स कम्पनीहरुले विदेशमा रेमिट्यान्सबापत लिएको पैसा नेपाल नल्याई विदेशमै राखेको र नेपालमा आफैंले भुक्तानी दिएको आशङ्कामा अध्ययन थालेको हो ।
अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा नेपाल राष्ट्र बैङ्कले रेमिट्यान्स कम्पनीहरुको कारोबारमा अध्ययन थालेको हो । केही समयअघि राष्ट्र बैङ्कले विदेशबाट पठाएको पैसा नेपाल नआई भुक्तानी नदिन रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुलाई निर्देशन दिएको थियो ।
‘नाम चलेका ठूला कम्पनी निगरानीमा छन्,’ मन्त्रालयका उच्च अधिकारीले भने । वैदेशिक रोजगारीका लागि विदेश जानको सङ्ख्या घट्ने तर, रेमिट्यान्स वृद्धि हुने भएपछि अर्थमन्त्री खतिवडाले राष्ट्र बैङ्कमार्फत ठूला रेमिट्यान्स कम्पनीमाथि निगरानी बढाउन निर्देशन दिएका छन् । गत साउन ३१ गते राष्ट्र बैङ्कले रेमिट्यान्सको पैसा आएपछि मात्रै भुक्तानी दिन निर्देशन दिएको थियो । त्यसअघि उता पैसा जम्मा गरेर यता पैसा नपठाए पनि भुक्तानी दिने प्रचलन थियो । त्यसो गर्दा यता पैसा नआई उतै बस्ने गरेको र यता भुक्तानी यहीँबाट हुने गरेको आशङ्का बढेको हो ।
राष्ट्र बैङ्कले उक्त निर्देशन जारी गर्नुपूर्व कामदारले विदेशमा जसरी भुक्तानी गर्थे । त्यसपछि पनि सोहीअनुसार भुक्तानी गर्दै आएका छन् । ‘उक्त व्यवस्था हुनुपर्छ, नेपालमा रेमिट्यान्स घट्दो क्रममा थियो, तर अहिले बढिरहेको छ,’ अर्थ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मान्छे जान कम हुने तर रेमिट्यान्स कसरी बढ्छ ? यसले प्रश्न उब्जाएको छ ।’
नेपालमा नाम चलेका ठूला रेमिट्यान्स कम्पनीहरु हुन्डी कारोबारमा संलग्न हुन सक्ने भन्दै राष्ट्र बैङ्कलाई नियाल्न निर्देशन दिएका छन् । कामदारले पठाएको पैसा नेपाल नआउने, नेपालका रेमिट्यान्स कम्पनीले बैङ्कबाट ऋण लिएर नेपालका सम्बन्धित आफन्तलाई भुक्तानी गर्ने प्रचलन छ । नेपालका रेमिट्यान्स कम्पनीले बैङ्कबाट ऋण लिएर कामदारका आफन्तलाई भुक्तानी गर्दा बैङ्कमा रकम अभाव भएको र त्यसको असर उद्योगधन्दामा पर्ने गरेको छ ।
त्यसो त पैसा भुक्तानीमा समस्या भएपछि हिमालयन बैङ्कले करोडौं रुपैयाँ रेमिट्यान्सको पैसा उधारो देखिएको छ । हिमालयन बैङ्कले म्याक्स मनी मलेसियासँग ४५ करोड रुपैयाँ रेमिट्यान्सबापतको पैसा लिन बाँकी छ । म्याक्स मनीसँग ठूलो रकम उधारो भएपछि राष्ट्र बैङ्कले म्याक्स मनीसँग रेमिट्यान्स कारोबारमा प्रतिबन्ध लगाएको थियो ।
रेमिट्यान्सको रकम दिन ठूलो रकम ऋणका रुपमा रेमिट्यान्स कम्पनीले लैजाने गर्दा उद्योगमा लगानी गर्न चाहनेले ऋण नपाउने अवस्था थियो भने त्यसले ब्याजदरमा समेत ठूलो चलखेल हुने गरेको सरकारी आशङ्का छ । सरकारले रेमिट्यान्स कम्पनीलाई रकम दाखिला भएपछि मात्रै भुक्तानी दिन निर्देशन दिएपछि उनीहरु समस्यामा पर्न थालेको स्रोतको दाबी छ ।
विदेशमा कामदारले जम्मा गरेको उतै बस्ने गरेको थियो । त्यो पैसा गैरकानुनी व्यापार÷व्यवसायमा जाने गरेको आशङ्का थियो । त्यसैगरी, सुन खरिद गर्न र भ्रष्चारमा प्रयाेग हुने गरेकाे छ । मानौं, कुनै व्यापारीले ५ अर्ब रुपैयाँको सामान नेपाल मगायो भने २ अर्ब रुपैयाँ प्रतितपत्र खोल्यो । बाँकी ३ अर्ब रुपैयाँ हुन्डीमार्फत दोस्रो पार्टीलाई तिर्ने गरेका थिए ।
अर्थमन्त्रीले कडाइ गरेपछि खासगरी, गैरकानुनी तवरबाट हुने व्यापार बन्द भएको छ । त्यसो हुनेबित्तिकै राजस्वमा पनि वृद्धि हुन्छ । न्यून बजकीकरणको समस्यासमेत हल हुँदै गएको अर्थ मन्त्रालय स्रोतको भनाइ छ ।
यो पनि पद्नुहोस्