भेरी बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ र माथिल्लो तामाकोशीको प्रगति मात्र आशालाग्दो छ । भेरी बबई सिँचाइ आयोजनाले भने अपेक्षा भन्दा धेरै भौतिक प्रगति गरेको छ । अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम)बाट सुरुङ खन्ने काम अघि बढाएपछि प्रगति भएको हो ।
सरकारले उच्च प्राथमिकतामा राखेर निर्धारित समयमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित अघि बढेका अधिकांश राष्ट्रिय गौरवका आयोजनाको निर्माण सुस्त भैरहेको अवस्थामा चालु आर्थिक वर्षमा तीन आयोजना निर्माणले भने गति लिएका छन् ।
२१ वटा राष्ट्रिय गौरवका आयोजना मध्ये तीन आयोजनाले मात्र अपेक्षित रुपमा प्रगति गरेका छन् । १९ आयोजनाले लक्ष्य अनुसार भौतिक तथा वित्तीय प्रगति गर्न सकेका छैनन् ।
चालु आर्थिक २०७४÷७५को पहिलो समिक्षामा लक्ष्य अनुसार काम गर्न नसक्ने आयोजनामा रानीजमरा कुलरीया सिचांई आयोजना (कैलाली), बुढी गण्डकी जलविद्युत आयोजना, पश्चिम सेती जलविद्युत आयोजना, काठमाडौं तराई द्रुतमार्ग, उत्तर–दक्षिण लोकमार्ग कर्णाली, उत्तर–दक्षिण लोकमार्ग कालीगण्डकी, उत्तर–दक्षिण लोकमार्ग कोशी, मध्यपहाडी लोकमार्ग, हुलाकी लोकमार्ग, दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल, बारा, पोखरा क्षेत्रीय विमानस्थल, भैरहवा क्षेत्रीय विमानस्थल, राष्ट्रपति चुरे संरक्षण लगायत राष्ट्रिय गौरबका आयोजना छन् ।
भेरी बबई सिँचाइ आयोजना, सिक्टा सिँचाइ र माथिल्लो तामाकोशीको प्रगति मात्र आशालाग्दो छ । भेरी बबई सिँचाइ आयोजनाले भने अपेक्षा भन्दा धेरै भौतिक प्रगति गरेको छ । अत्याधुनिक टनेल बोरिङ मेसिन (टिबिएम)बाट सुरुङ खन्ने काम अघि बढाएपछि प्रगति भएको हो ।
नेपालमा पहिलो पटक प्रयोगमा ल्याएको टिबिएम मेसिनबाट सुरुङ खन्दा १ सय ३५ प्रतिशत भौतिक प्रगति भएको छ । पहिलो समिक्षामा अवधिमा ९१.५ प्रतिशत भौतिक प्रगति हासिल गरेको छ । भेरी नदीको ४० क्युमेक पानी बबईमा मिसाएर बाँके, बर्दियाका ८० हजार बिघामा सिँचाइ सुविधा दिने र ४८ मेगावाट विद्युत् निकाल्ने योजना हो । आर्थिक वर्ष ०६८÷६९ मा निर्माण सुरु भएको उक्त योजनामा अहिलेसम्म १ अर्ब २५ करोड रुपैयाँ भन्दा बढी खर्च भएको छ ।
दोलखामा निर्माण भैरहेको चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको सुरुङ ‘ब्रेक थ्रू’ भैसकेको छ । सम्पूर्ण आयोजनाको सिभिलतर्फको काम करिब ९२ प्रतिशत सम्पन्न भएको आयोजनाले जनाएको छ । ३५ अर्ब ३० करोड रुपैयाँ लालगत रहेको सो आयोजना २०१८को डिसेम्बरबाट नियमित विद्युत उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । त्यसैगरी सिक्टा सिँचाइ आयोजनानले ७१.८ प्रतिशत प्रगति भएको छ ।
राजधानीबासीलाई पिउने पानी उपलब्ध गराउने मेलम्ची खानेपानी आयोजनाले पनि अपेक्षित प्रगति गर्न सकेको छैन । सन् २०१३ जुलाईमा सुरु भएको सो आयोजना समयमा सम्पन्न नभएपछि २६ मार्च २०१८ सम्मका लागि लम्बाइएको छ । सिन्धुपाल्चोकको ग्याल्थुमदेखि सिन्धु खण्डमो चार सय २० मिटर सुरुङ खन्न बाँकी नै छ । आयोजनाका सम्पूर्ण काममै ९२ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले दाबी गरे पनि योजना अझै लम्बिने देखिएको छ । उक्त आयोजनामा अहिलेसम्म २३ अर्ब ६७ लाख २६ हजार रुपैयाँ खर्च भएको खानेपानी तथा सरसफाई मन्त्रालयले जनाएको छ ।