प्रधानमन्त्रीले सडक, अस्पताल, खानेपानी, बिजुली जस्ता अत्यावश्यक पूर्वाधारको काम छाडेर भ्यूटावर बनाउन लागेको स्थानीय जनताको आरोप छ ।
काठमाडौं । अढाई अर्ब रुपैयाँभन्दा बढी लगाएर भ्यू टावर बनाउनुभन्दा स्थानीय जनताका आधारभूत आवश्यकताको क्षेत्रमा काम गर्न दमकका जनताले आग्रह गरेका छन् ।
त्यहाँका धेरै सर्वसाधारणले पहिला जनताका आधारभूत आवश्यकता पूरा गर्ने संरचना निर्माण गर्न सरकारसँग माग गरेका हुन् । त्यसैपनि तराईको समथर भूभागमा फैलिएको झापामा दृश्यावलोकन गर्न बनाइने भ्यू टावरबाट के के देख्न सकिएला भनेर प्रश्नहरु उठ्ने गरेका छन्। प्रधानमन्त्रीले सडक, अस्पताल, खानेपानी, बिजुली जस्ता अत्यावश्यक पूर्वाधारको काम छाडेर भ्यूटावर बनाउन लागेको स्थानीय जनताको आरोप छ ।
दमक चोक वरिपरि बाहेकका सडक जीर्ण भएको, कतिपय सामुदायिक विद्यालयमा भौतिक संरचना नभएको तथा पढाउने शिक्षकको व्यवस्था नभएको र न्यूनतम सुविधा भएको अस्पताल समेत नभएको प्रधानमन्त्रीको गृहनगरमा सर्वसाधारणले भ्यू टावरको औचित्यमाथि प्रश्न उठाएका छन् । सुनसरीको इटहरी पूर्व र झापाको विर्तामोड पश्चिम क्षेत्रमा न्यूनतम सुविधा भएका अस्पताल छैनन् ।
कतिपय स्थानमा खानेपानीको राम्रो व्यवस्था छैन । धेरै गाउँमा अहिले पनि बिजुली पुग्न सकेको छैन । मुख्य चोक तथा मुख्यमार्ग बाहेकका सडक स्तरोन्नति भएका छैनन् र धेरै सार्वजनिक विद्यालय जीर्ण छन् । भौतिक संरचना भएका विद्यालयमा पढाउने शिक्षक छैनन् ।
झापाको माईखोला पश्चिम र सुनसरीको इटहरी पूर्वका बासिन्दाका लागि न्यूनतम सुविधा भएको एउटा पनि सरकारी अस्पताल छैन । दमकमा नगरपालिकाले सञ्चालन गरेको १५ शैय्याको एउटा अस्पताल छ ।
तर उक्त अस्पतालले ठूलो जनसङ्ख्या भएको क्षेत्रका मानिसहरूलाई सेवा दिन सकिरहेको छैन । दमक १० का नगेन्द्र न्यौपानेको प्रश्न छ, ‘आइसीयू चाहियो भने कि विराटनगर वा विर्तामोडका महँगा निजी अस्पताल पुर्याउनु पर्छ । के भ्यू टावरले बिरामी जाँच्छ ?’
प्रदेशका स्वास्थ्य निर्देशक भोगेन्द्रराज डोटेलका अनुसार त्यस क्षेत्रमा एउटा सुविधा सम्पन्न अस्पताल अनिवार्य भएको छ । अस्पताललाई चाहिने जनशक्तिका लागि योजना बनाएर भ्यू टावरको अढाई अर्ब रुपैयाँ अस्पताल निर्माणमा लगाउने हो भने गतिलै अस्पताल बन्न सक्ने उनको भनाइ छ ।
उनले भने, अढाई अर्ब रुपैयाँ भनेको धेरै हो । सबै विशेषज्ञ सेवा दिने किसिमको सबै उपकरण राखेर सुविधासम्पन्न अस्पताल बनाउन सकिन्छ । दमक चोकबाट पश्चिम ताराबारीबाट उत्तर जाने नगरको रिङरोड वर्षौँदेखि स्तरोन्नतिको पर्खाइमा छ ।
सोही भएर उत्तर जाँदा बाटोमा सानो पसल गर्ने दमक नगरपालिका ३ दुम्सेका ज्ञानु बुढाथोकीलाई दमकमा बन्ने भनिएको भ्यू टावरभन्दा सोही सडकको स्तरोन्नति महत्त्वपूर्ण हो भन्ने लाग्छ।
उनले भने, ‘पहिला त सडक बनाउनुपर्यो नि । कति दिन धुलो खाएर बस्नु ? दमक बजारभित्रका केही किलोमिटर सडक बाहेक दमक नगरपालिका क्षेत्रका अधिकांश सडकमा कालोपत्रे छैन ।’
भ्यू टावरको बजेट सडक स्तरोन्नितमा लगाउने हो भने दुई सय किलोमिटरभन्दा बढी सडक ड्रेनसहितको कालोपत्रे बन्न सक्ने इन्जिनियर राजेश घिमिरे बताउँछन् । जसबाट दमक क्षेत्रका मुख्य सडकहरू कालोपत्रे बन्न सक्छ ।
चुलाचुली आधारभूत विद्यालय तीन कठ्ठा जमिनमा सञ्चालन भइरहेको छ । कक्षा आठसम्मको पढाइ भए पनि सबै कक्षा प्रावि तहका शिक्षकले सञ्चालन गरिरहेका छन् ।
उक्त विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद गुरागाईँलाई पनि भ्यू टावर बन्नुभन्दा जनताका छोराछोरी पढ्ने विद्यालयमा शिक्षकको व्यवस्था भइदिए हुन्थ्यो भन्ने लागेको छ ।
उनले भने, ‘भ्यू टावरु आफ्नो ठाउँमा होला । सरकारलाई आवश्यक लागेको हुनसक्छ । तर शिक्षामा लगानी भएन भने केही हुँदैन । हाम्रा सामुदायिक विद्यालयका हालत खराब छ ।’
दमकलगायत झापाका धेरै सामुदायिक विद्यालयको अवस्था कुनै न कुनै सुविधाका हिसाबले सन्तोषजनक छैनन् ।
जिल्ला शिक्षा कार्यालय झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल भ्यू टावर बनाउने पैसाले १० वटाभन्दा बढी माध्यमिक तहका विद्यालय बनाउन सकिने बताउँछन् ।
विद्युत् प्राधिकरण दमक शाखाले गत कार्तिकमा दमक क्षेत्रमा विद्युत् आपूर्ति गर्नका लागि १० करोड रुपैयाँ बजेट छुट्ट्यायो । तर अहिलेसम्म जनतालाई विद्युत् सेवा दिने उक्त बजेट प्राप्त भएको छैन ।
तर शहरी विकास मन्त्रालय दमक ६ ढुकुरपानीमा भ्यू टावर बनाउनका लागि टेन्डर खोल्ने प्रक्रियामा रहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले जानकारी दिइन्। भ्यू टावरुको पैसा विद्युत्मा लगाउने हो भने पूर्वी तराईका तीन जिल्लामा पर्याप्त बिजुली पुग्ने संरचना बनाउन सकिने विद्युत् प्राधिकरणका कर्मचारी बताउँछन् ।
दमक नगरपालिका क्षेत्रभित्र आधा जनसङ्ख्यामा खानीपानीको व्यवस्था पुगेको छ। दमक बजारको दक्षिण क्षेत्रमा खानेपानीको व्यवस्था पुग्न नसकेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष रोशन गौतमले बताए।
दमक क्षेत्रमा मात्र खानेपानीको व्यवस्था पुर्याउन अझै करिब ३५ करोड रुपैयाँ लाग्ने उनले बताए। अहिले तीनवटा ट्याङ्कीबाट पानीको आपूर्ति हुँदै आएको छ। अढाई अर्ब रुपैयाँले करिब आठवटा त्यस्ता खानेपानी आयोजना बन्ने उनको अनुमान छ ।
तर सत्तारुढ नेकपाका स्थानीय नेता बोधराज घिमिरे भ्यू टावरु दमकको विकासका लागि महत्त्वपूर्ण हुने बताउँछन्। उनले भने, यो हाम्रो योजना हो। दमकको विकासका लागि यो महत्त्वपूर्ण छ। अरू विकासका काम पनि सँगै अगाडि बढाउने हो।
नगरपालिकाकी उपप्रमुख गीता अधिकारी जनताका आधारभूत आवश्यकताका कुरा र भ्यू टावर निर्माणसँगै लिएर जाने बताउँछिन्। उनले भनिन्, अब यो आउने भइसक्यो। यो रोकेर हुँदैन। भरे यो पनि भएन, अरू काम पनि भएनन् भने गाह्रो हुन्छ। स्रोत : बीबीसी