बम दिदी बहिनीको बयान : मानवअधिकारवादीले हाम्रो चरित्र हत्या गरे

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी बम दिदी बहिनीले मानवअधिकारवादीले आफ्नो चरित्र हत्या गरेको भन्दै गल्ती भए जेल हाल्न चुनौती दिएका छन् ।

काठमाडौं । निर्मला पन्तको बलात्कार–हत्यामा जोडिएका बबिता बम र रोशनी बमले मानवअधिकारवादीले नै आफ्नो मानवअधिकार हनन गरेको बताएका छन् ।

सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी बम दिदी बहिनीले मानवअधिकारवादीले आफ्नो चरित्र हत्या गरेको भन्दै गल्ती भए जेल हाल्न चुनौती दिएका छन् ।

‘दोषी भए नभएको छ्ट्याउने राज्यले हो,’ पत्रकार सम्मेलनमा बोल्दै रोशनी बमले भनिन्, ‘मानवअधिकारको खोल ओढेकाहरुले हामीलाई जबरजस्ती दोषी बनाउन घरमै बसेर प्रतिवेदन बनाए ।’

मानवअधिकारवादीले काठमाडौंमै बसेर प्रतिवेदन बनाएको भन्दै प्रतिवेदन बनाउँदा आफूहरुलाई नभेटेको पनि उनीहरुले बताए ।
‘प्रतिवेदन बनाउनेले हामीलाई कुनै कुरा सोधेका छैनन्, तर यहाँ बम दिदी बहिनीको भनाइ यस्तो छ भनियो, हामीलाई कसले भेट्यो ? कसले सोध्यो ?’ उनीहरुले भने ।

मानवअधिकारवादी इन्द्रप्रसाद अर्यालले सार्वजनिक गरेको प्रतिवेदनमा हामीलाई डान्स बारमा नाच्ने डान्सर भनियो, ओपेरा होटलमा डान्सबारमा काम गर्ने भनियो । त्यहाँ डान्स बार नै छैन । ‘काठमाडौंमा बसेर हावाको भरमा प्रतिवेदन बनाएर हाम्रो चरित्र हत्या गर्ने ?’ उनीहरुले आक्रोश पोखे ।

‘हामीले गल्ती गरेको भए सरकारले छाड्दैन होला, गल्ती नै भए सरकारले जेल हाल्नु पर्ने हो । दोषी साबित गर्ने र निर्दाेष सावित गर्ने राज्यको काम हो, तर यहाँ मानवअधिकारवादी राज्य बन्न खोजे,’ उनीहरुले भने ।

कन्चनपुरका मानवअधिकारवादीले आफ्नो र मिडियाको भेट हुन नदिएको समेत उनीहरुको आरोप छ ।

‘हामीहरुलाई मिडियाबाट टाडा राखियो, काठमाडौं आउँदासमेत रोक्ने प्रयास भयो । हामी दोषी भए राज्यले यसरी बाहिर हिँड्न दिन्थ्यो ?’ उनीहरुले प्रश्न गरे ।

‘हाम्राबारेमा प्रतिवेदन बनाउनेलाई सँगै बसेर पत्रकार सम्मेलन गरौं भन्यौं, उनीहरु भागे,’ बम दिदी बहिनीले भने ।

‘प्रहरी हिरासतमा रहेका बेला हामीलाई प्रहरीले राति बाहिर लगेर यातना दियो, तर हामीलाई मासुभात खुवाइयो भनियो,’ उनीहरुले भने ।