नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं ऋण निकाल्ने गिरोह पक्राउ

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका १ का नारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ, कृष्णबहादुर खत्री, पर्साका नेरशसिंह अमात्य तथा सरिनशङ्कर श्रेष्ठ छन् । उनीहरुले सवारी साधनको नक्कली कागजपत्र पेस गरेर देव बिकास बैङ्कका विभिन्न शाखाबाट ऋण निकालेका थिए ।

काठमाडौं । सवारी साधनको नक्कली ब्लु–बुक बनाएर बैङ्कबाट करोडौं रुपैयाँ ऋण निकाल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नक्कली कागजपत्र बनाएर कर्जा लिई बैङ्कलाई नोक्सानी पुर्याएको भन्दै काठमाडौंलगायत विभिन्न स्थानबाट ६ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काभ्रे भुम्लु गाउँपालिका १ का नारायण श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नविन श्रेष्ठ, कृष्णबहादुर खत्री, पर्साका नेरशसिंह अमात्य तथा सरिनशङ्कर श्रेष्ठ छन् । उनीहरुले सवारी साधनको नक्कली कागजपत्र पेस गरेर देव बिकास बैङ्कका विभिन्न शाखाबाट ऋण निकालेका थिए ।

उनीहरुले ब्लु–बुकमा फर्जी विवरण राखेर ११ जना ऋणी खडागरी बैङ्कबाट दुई करोड ७१ लाख ७६ हजार रुपैयाँ निकालेको प्रहरी अनुसन्धानबाट खुलेको छ । नक्कली कागज बनाएर बैङ्क डुबाउने नाइके नारायणबहादुर श्रेष्ठ रहेको ब्युरोको अनुसन्धानबाट खुलेको छ ।

श्रेष्ठ सवारी साधन किनबेच गर्ने व्यक्ति भएका कारण यातायातमा सहजै पहुँच बनाएको र यातायातकै केही कर्मचारीले समेत उनलाई सहयोग गरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

श्रेष्ठलाई ऋण प्रवाह गर्ने बैङ्कका केही कर्मचारीसमेत मिलेको हुनसक्ने प्रहरीले जनाएको छ । पक्राउ परेका सबैजनालाई प्रहरीले थुनामा राखी आवश्यक कारबाही अघि बढाएको बताएको छ ।