विदेशी लगानी ल्याउन अनुमति माग्नेमा सिमेन्ट, होटल, जलविद्युत, स्टिल, रियल इस्टेट, इँटा उत्पादन, सूचना प्रविधि, खाद्यन्न प्रशोधन, रेस्टुरेन्ट र सेवा उद्योग छन् । विदेशी लगानी ल्यान निवेदन दिने सबै कम्पनीलाई नेपाल राष्ट्र बैङ्कले आवश्यक कागजात पेस गर्न भनेको छ ।
काठमाडौं । निजी लगानीमा स्थापना भएका विभिन्न क्षेत्रका ५४ कम्पनीले विदेशबाट लगानी ल्याउन अनुमति मागेका छन् । उनीहरुले विदेशबाट डलरमा लगानी ल्याउनका लागि नेपाल राष्ट्र बैङ्कमा निवेदन दिएका छन् ।
विदेशी लगानी ल्याउन अनुमति माग्नेमा सिमेन्ट, होटल, जलविद्युत, स्टिल, रियल इस्टेट, इँटा उत्पादन, सूचना प्रविधि, खाद्यन्न प्रशोधन, रेस्टुरेन्ट र सेवा उद्योग छन् । विदेशी लगानी ल्यान निवेदन दिने सबै कम्पनीलाई नेपाल राष्ट्र बैङ्कले आवश्यक कागजात पेस गर्न भनेको छ ।
गोल्छा समूहअन्तर्गत हुलास स्टिल इन्डस्ट्रिज लिमिटेडले स्टिलको क्षमता विस्तार गर्न विदेशबाट लगानी ल्याउने तयारी थालेको छ । उसले डलरमा लगानी ल्याउनका लागि राष्ट्र बैङ्कमा निवेदन दिएको हो । उसले स्वीकृतिभन्दा बढीको लेखाङ्कन मागेपछि राष्ट्र बैङ्कले थप कागजात पेस गर्न भनेको छ ।
यस्तै नाइजेरियाको डाङ्गोटे सिमेन्टले पनि नेपालमा ठूलो सिमेन्ट कारखाना खोल्नका लागि लगानी ल्याउने तयारी गरेको छ ।
भारतको डाबर ग्रुपको मुख्य लगानी रहेको डाबर नेपाल प्रालि उत्पादन विस्तार गर्न थप लगानी ल्याउन लागेको हो । सोलु हाइड्रोपावर, नौलो नेपाल हाइड्रो, ठकराल वानले विदेशी लगानी ल्याउन माग गरेका छन् ।
डलरमा लगानी ल्याउन अनुमति माग्ने अधिकांश कम्पनीको स्रोत नखुलेको, सेयर संरचना नमिलेको, कागजपत्र अपुग भएको, स्वीकृतभन्दा बढी लेखाङ्कन माग गरिएको, ऐनबमोजिम कार्यक्षेत्र मिलाउनुपर्ने र घरजग्गा र हाउजिङ क्षेत्र भएकाले विद्यमान कानूनअनुसार लगानीको क्षेत्र मिलाउनुपर्ने राष्ट्र बैङ्कले जानकारी दिएको छ ।
चालू आर्थिक वर्षको ५ महिनामा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह झन्डै आधा घटेको छ । गत मङ्सिरसम्म ६ अर्ब ७८ करोड रुपैयाँबराबरको वैदेशिक लगानी नेपाल भित्रिएको केन्द्रीय बैङ्कले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा प्रत्यक्ष वैदेशिक लगानी ११ अर्ब १२ करोड रुपैयाँ थियो ।