कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ९ प्रतिशत योगदान गरेको दुग्ध क्षेत्रमा आधारित भएर बनाइएको नेपाली चलचित्र ‘गोपी’ले किसानको समस्या उजागर गरेको छ ।
क्यापिटल विजनेस म्यागजिनको आयोजनामा बुधबार देखाइएको चलचित्र गोपी हेरेपछि कृषि मन्त्री चक्रपाणी खनालले चलचित्रमा किसानको वास्तविक समस्या उजागर गरिएको बताए । ‘किसानको धेरै समस्या छन्,’ चलचित्र हेरेपछि मन्त्री खनालले प्रतिक्रिया दिए, ‘चलचित्रका देखाइएका समस्या समाधान गर्न सरकार लागिपरेको छ ।’
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले चलचित्रमा वास्तविकता उतारिएको प्रतिक्रिया दिइन । ‘चलचित्रले विषय एकदमै सहज र सरल तरिकाले विषय उठान गरेको छ,’ राणाले भनिन्, ‘नेपालका किसान र कृषि क्षेत्रको वास्तविक समस्या यही हो ।’
नेपाल डेरी एसोसिएसनका निर्वतमान अध्यक्ष तथा सिताराम गाेकुल मिल्कका प्रवन्ध निर्देशक सुमित केडियाले चलचित्रले किसानको दुखको मात्रै समस्या उजागर गरेको बताए । ‘डेरी क्षेत्रमा पनि ठूलो समस्या छ,’ उनले प्रतिक्रिया दिए ‘चलचित्रले किसानको पाटो बुलन्द रुपमा उठाएको छ । तर, डेरी क्षेत्रको समस्या छोएको छैन ।’
केडियाका अनुसार अहिले डेरी क्षेत्रले सहरबाट गाउँमा दैनिक ३ करोड रुपैयाँ पठाउँदै आएका छन् । किसानबाट दूध ल्याउने र त्यो बापतको रकम गाउँमा पठाउने गरेको उनको भनाइ छ ।
गोपीको भूमिका रहेका कलाकार विपिन कार्की एक गाइपालक किसान हुन् । चलचित्रमा स्वदेशमै केही गर्नुपर्छ भन्ने देखाइएकाे छ । कृषि क्षेत्रमा अथाह सम्भावना पनि देखाइएकाे छ । चलचित्रमा गाइपालन गरेका गोपीले बढ्दो महँगी बेलामा दुध किसानले भोग्नुपरेको समस्या झेलेका छन् । नेपालमा पछिल्लो समय दुध उत्पादन किसानले दुधको उचित मुल्य नै पाउन नसक्दा पेशा नै परिवर्तन गर्नुपर्ने बाध्यतालाई कथामा समावेश गरिएको छ ।
गोपी आफ्नो साथीसँग सहलगानीमा सुरुमा गाइफार्म खोलेर दुध वेच्न खोजेपनि राम्रो उत्पादन र मुल्य पाउन सकेका छैनन् । त्यसपछि गाइ पाल्न छाडेर विदेश जाने सोच आउँछ गोपीमा । तर, उस्ले स्वदेशमै केही गर्छु भनेर पुन गाइपालन सुरु गर्छ । उद्याेगी, सरकारी कर्मचारी, पत्रकार र गोपी मुभीका निर्माता, लेखक, कलाकारलगायतकाे थियो ।

















