डोलोमाइट फ्लक्स उत्पालन गर्न चुनढुङ्गा आवश्यक पर्छ । त्यो नेपालमै छ । हाम्रो अधिकांश उत्पादन भारत निर्यात हुने उद्योगले जनाएको छ ।
काठमाडौं : विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेज)भित्र खुलेको शक्ति मिनरल प्रालिले दुई महिनाभित्र उत्पादन बजारमा ल्याउने भएको छ । आधा अर्ब रुपैयाँ लगानीमा स्थापना भएको उद्योगले स्टिल उद्योगलाई चाहिने कच्चापदार्थ उत्पादन गर्न लागेको उद्योगका प्रमुख कार्यकारी अधिकृत प्रकाश महर्जनले जानकारी दिए ।
‘सेजमा सबैभन्दा पहिले हाम्रो उत्पादन बजारमा आउँछ,’ महर्जनले क्यापिटल नेपालसँग भने, ‘अहिले मेसिन जडानको काम सकिएको र मेसिनको परीक्षण गर्ने कार्य चलिरहेको छ ।’
उद्योगले नेपालकै चुनढुङ्गालाई कच्चापदार्थको रुपमा प्रयोग गरेर स्टिल उद्योलाई चाहिने कच्चापदार्थ ‘डोलोमाइट फ्लक्स’ उत्पादन गर्ने भएको हो ।
स्टिल उद्योगलाई नभई नहुने कच्चापदार्थमध्ये डोलोमाइट फ्लक्स पर्छ । शक्ति मिनरलले त्यही उत्पादन गर्न लागेको हो । प्रमुख कार्यकारी अधिकृत महर्जनका अनुसार हाम्रो उत्पादनको ७० देखि ८० प्रतिशत भारत निकासी हुनेछ ।
‘नेपालमा डोलोमाइट फ्लक्सको बजार एकदमै सानो छ । हाम्रो उत्पादनको ३० प्रतिशत पनि नेपालमा खपत हुँदैन । हामीले भारतीय बजारलाई मुख्य टार्गेट गरेर उत्पादन गर्न लागेको हौं,’ उनले भने, ‘स्वदेशी उद्योगलाई चाहिने कच्चापदार्थ पनि हामी आपूर्ति गर्न सक्छौं ।’
डोलामाइट फ्लक्स उत्पादन गर्न उद्योगले पाल्पामा खानीसमेत लिइसकेको छ । सेजमा खुल्ने उद्योगले स्वदेशी कच्चापदार्थ र अनिवार्य निर्यात गर्नुपर्ने छ । डोलोमाइट फ्लक्स उत्पालन गर्न चुनढुङ्गा आवश्यक पर्छ । त्यो नेपालमै छ । हाम्रो अधिकांश उत्पादन भारत निर्यात हुने उद्योगले जनाएको छ । सेजभित्र सम्पूर्ण सुविधा भएकाले निर्यात गर्न सजिलो पनि हुने उनको भनाइ छ । ‘हरेक प्रकारको सुविधा एकै ठाउँमा छ,’ उनले भने ।
प्रमुख कार्यकारी अधिकृत महर्जनका अनुसार उद्योगको २ हजार टन प्रतिदिन उत्पादन गर्छ । त्यसैगरी उद्योगले अहिले नै थप क्षमता विस्तार गर्ने योजनासहित सेजमा ६ ओटा प्लट लिइसकेको छ । ‘बजारमा माग बढ्दै गएपछि क्षमता विस्तार गर्नुपर्छ,’ उनले भने, ‘त्यही भएर पछिका लागि अहिल्यै जग्गा लिइरहेको हो ।’