अख्तियारले लियो गोपाल खड्कासँग बयान

प्रादेशिक संरचनाअनुसार निगमले भैरहवा, चितवन, झापा, सर्लाहीमा इन्धन भण्डारणका लागि जग्गा किन्दा विभिन्न संसदीय समिति र आपूर्ति मन्त्रालयले समेत अनियमितता भएको दाबी गरेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ ।

नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का अख्तियारको कठघरामा छन् । खड्कालाई इन्धन भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनुसन्धान गर्न अख्तियार बोलाएर मङ्गलबार सोधपुछ तथा बयान लिन सुरु गरिएको छ ।

खड्काको बयान मङ्गलबार नसकिए तारिखमा राखेर बुधबार पनि लिने आयोगको तयारी छ । प्रादेशिक संरचनाअनुसार निगमले भैरहवा, चितवन, झापा, सर्लाहीमा इन्धन भण्डारणका लागि जग्गा किन्दा विभिन्न संसदीय समिति र आपूर्ति मन्त्रालयले समेत अनियमितता भएको दाबी गरेपछि अख्तियारले अनुसन्धान गरिरहेको छ । तत्कालीन संसदको सार्वजनिक लेखा समितिले जग्गा खरिदमा संलग्नलाई छानबिन गरी कारबाही गर्न अख्तियारलाई निर्देशनसमेत दिएको थियो ।

अख्तियारले जग्गा प्रकरणमा जोडिएका करिब तीन सय जनासँग सोधपुछ गरिसकेको जनाएको छ । खड्को बयानपछि निगम सञ्चालक समितिका पदाधिकारी, तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासहितलाई बयान लिने तयारी गरेको स्रोतले जानकारी दिएको छ । त्यसपछि मात्र अख्तियारले विशेष मुद्दा दायर गर्ने÷नगर्ने विषयमा निर्णय गर्नेछ ।