उत्पादनमूलक उद्योगमा आरएमसी ग्रुप निरन्तर अघि, पाल्पा सिमेन्टको उत्पादन फागुन दोस्रो हप्ताबाट

८ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको उद्योगको ९५ प्रतिशत काम सकिएको छ । अब केही दिनपछि परीक्षण उत्पादन सुरु हुने आरएमसी ग्रुपका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

काठमाडौं : आरएमसी ग्रुपअन्तर्गतको पाल्पा सिमेन्ट इन्डस्ट्रिजले फागुन दोस्रो हप्ताबाट क्लिङ्कर उत्पादन बजारमा ल्याउने भएको छ । १४ महिना अघिबाट निर्माण सुरु भएको उद्योगले आगामी फागुनबाट क्लिङ्कर उत्पादन बजारमा ल्याउन लागेको हो ।

८ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको उद्योगको ९५ प्रतिशत काम सकिएको छ । अब केही दिनपछि परीक्षण उत्पादन सुरु हुने आरएमसी ग्रुपका अध्यक्ष राजेश अग्रवालले जानकारी दिए ।

‘सम्पूर्ण काम सकिएको छ,’ उनले भने, ‘फेब्रुअरी २६ तारिखमा उत्पादन बजारमा आउँछ ।’ नवलपरासीको सुनवलमा स्थापना भएको उद्योगको खानी पाल्पामा छ । सञ्चालनको अन्तिम तयारीमा रहेको उद्योगले दैनिक ३ हजार टन क्लिङ्कर उत्पादन गर्ने अग्रवालले जानकारी दिए ।

आरएमसी सिमेन्ट उत्पादन गरिएको ग्रुपले पहिलो पटक क्लिङ्कर उत्पादन गर्न लागेको हो । यस अघिसम्म ग्राइन्डिङ मेसिन राखेर सिमेन्ट उत्पादन गरिएको कम्पनीले अब आफ्नै क्लिङ्करबाट सिमेन्ट बनाउन लागेको हो ।

आरएमसीसँग एउटा ग्राइन्डिङ मेसिन छ । यसबाट आरएमसी सिमेन्ट उत्पादन गरिरहेको छ । पाल्पा सिमेन्टबाट क्लिङ्कर उत्पादन गर्ने हो । पाल्पा सिमेन्टमा उत्पादित क्लिङ्कर आएरमसीमा पनि प्रयोग हुने अग्रवालले जानकारी दिए ।

आरएमसी जस्तापाता र सिमेन्ट उद्योगमै संलग्न समूह हो । यो समूहले राजेश मेटलक्राफ्ट ब्रान्डमा जस्तापाता उत्पादन गर्दै आएको छ । वीरगन्जमा आरएमसी सिमेन्ट उद्योग छ । वीरगन्जको उद्योग ग्राइन्डिङ मात्रै हो ।

उत्पादनमूलक उद्योगबाट मात्रै देशको अर्थतन्त्र बलियो हुन्छ भन्ने मान्यता राख्ने अग्रवालले अहिलेसम्म तीन ओटा उद्योग सञ्चालन गरिसकेका छन् । नेपालको पूर्वाधार क्षेत्रको विकास बिस्तारै अघि बढिरहेका बेला आरएमसी ग्रुपले नयाँ उद्योग लगाएको हो ।

सरकारले सिमेन्ट तथा स्टिल उद्योगको विकासमा प्रोत्साहन गरेपछि नयाँनयाँ उद्योग खुल्ने क्रम बढेको हो । सरकारले सिमेन्ट तथा स्टिल आयातमा थप कडाइ र क्लिङ्कर आयातमा लाग्ने भन्सार बढाएर स्वदेशी उद्योगलाई प्रवद्र्धन गर्ने नीति लिएपछि यो क्षेत्रका उद्योगको विकास भएको हो ।