मुस्ताङमा ३४ प्रतिशत बढ्यो पर्यटक आगमन

मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नैपर्ने १० स्थानमा सूचीकृत गरेको थियो । म्याग्दी, पोखरा, काठमाडौं, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छ ।

हिमाली पर्यटकीय जिल्ला मुस्ताङको भ्रमणमा आउने पर्यटकको संख्या ३४ दशमलव ४९ प्रतिशतले बढेको छ । सन् २०१६ को तुलनामा सन् २०१७ मा पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को जोमसोमस्थित इलाका कार्यालयले जानकारी दिएको छ ।
सन् २०१७ मा ५२ हजार ४ सय ७५ पर्यटकले मुस्ताङ भ्रमण गरेका कार्यालयका प्रमुख तुलसी दाहालले जानकारी दिए । उपल्लो मुस्ताङको भ्रमणमा जाने पर्यटकको संख्या चार हजार १ सय १५ जना छ । सन् २०१६ मा ३९ हजार १७ तथा सन् २०१५ मा २५ हजार २७२ पर्यटकले जिल्लाको भ्रमण गरेका थिए । शान्ति सुरक्षाको अवस्था राम्रो, राजनीतिक स्थिरता, यातायातको सहज पहुँच तथा प्रचारप्रसारका कारण भ्रमणमा आउने आन्तरिक र बाह्य पर्यटक वर्षेनी बढ्दै गएको दाहालले बताए । उनुभयो ।

भारत, चीन, अमेरिका, बेलायत, फ्रान्स, नेदरल्यान्ड, दक्षिण कोरिया, क्यानडा, न्यूजिल्याण्ड, इजरायललगायत देशका पर्यटक जिल्लाको भ्रमणमा आउने गरेका छन् । अन्नपूर्ण चक्रीय पदमार्गअन्तर्गत पर्ने जिल्लामा प्राकृतिक सुन्दरता, पृथक् भूबनोट, हिमाली जीवन शैली, मुक्तिनाथ मन्दिर, दामोदर कुण्ड, माटोको सहरका रूपमा परिचित लोमान्थाङ, पूर्वमुस्ताङी राजदरबार, मुक्तिनाथ, थोराङ्ला झञ्ज्याङ, मार्फा, ठिनी, कागबेनीलगायत थुप्रै पर्यटकीय स्थल छन् ।

मरुभूमि जस्तै भूगोलको पृष्ठभूमिमा देखिने हिमाल, साहसिक पदयात्रा, थकाली, गुरुङ, लोवा (विष्ट) जातिको जीवनशैली, गुम्बा र गुफा यहाँका पर्यटकीय आकर्षण हुन् । पर्यटकको आवागमन बढेसँगै जिल्लाका होटल तथा पर्यटन व्यवसायी उत्साहित बनेका छन् । एक्यापले जिल्ला भित्रिने बाह्य पर्यटकको जोमसोम र कागबेनीमा तथ्याङ्क सङ्कलन गर्दै आएको छ । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति २ सय र अन्य मुलुककाले प्रतिव्यक्ति दुई हजारका दरले शुल्क तिर्नुपर्छ ।

उपल्लो मुस्ताङको भ्रमणका लागि विदेशी नागरिकले अध्यागमन विभागबाट अनुमति लिनुपर्छ । बढीमा १० दिनका लागि प्रतिदिन ५ सय डलरका दरले राजस्व बुझाएपछि विभागले भ्रमणका लागि अनुमति दिने गर्छ । मुस्ताङलाई लोन्ली प्लानेटले सन् २०१७ मा विश्वका घुम्नैपर्ने १० स्थानमा सूचीकृत गरेको थियो । म्याग्दी, पोखरा, काठमाडौं, भैरहवालगायत ठाउँबाट मुस्ताङका लागि यातायात सेवा सञ्चालनमा छ ।