माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
अछाम । साँफेबगरबाट चौरपाटी गाउँपालिकातर्फ लैजाँदै गरेको दुई लाख मूल्यबराबरको गुणस्तरहीन मदिरा चौखुट्टे प्रहरीले बरामद गरी नियन्त्रणमा लिएको छ । माघ १८ गते बेलुका साँफेबगरबाट चौखुट्टेको बाटो हुँदै चौरपाटीतर्फ लैजाँदै गरेको ३०० पेटी सौफी नामको मदिरा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय युवा, व्यापारी र सरोकारवालाको पहलमा मदिरा नियन्त्रणमा लिइएको प्रहरी चौकी चौखुट्टेका प्रहरी सहायक निरीक्षक असई मदन धामीले जानकारी दिए । साँफेबगरको पन्त जनरल स्टोरबाट चौरपाटीतर्फ लैजाँदै गरेको सो मदिरा सबै सरोकारवालाको रोहबरमा आज नष्ट गरिने जनाइएको छ । ओसारपसारमा संलग्न ट्याक्टरलाई भने नियमअनुसार पाँच हजार रूपैयाँ जरिवाना गरी छाडिएको प्रहरीले जानकारी दिएको छ ।
पछिल्लो समय अछाम प्रहरीले जिल्लाभरि नै कमसल, अवैध र घरेलु मदिरा नियन्त्रण कार्यलाई अभियानकै रूपमा सञ्चालन गरिरहेको छ । जताततै पाइने कमसल र घरेलु मदिराका कारण समाजमा विभिन्न अराजक क्रियाकलाप बढेको भन्दै प्रहरीले सक्रियता बढाएको र यसमा सबै जनप्रतिनिधि र सरोकारवालाको सहयोग रहेको प्रहरीको भनाइ छ । रासस