इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टमको विरोधमा कोलकाता बन्दरगाहमा सामान रोकियो

भारतको कोलकाता तथा हल्दिया बन्दरगाहबाट सिधै सामानका कन्टनेर नेपाल ल्याउन ईटीएस प्रणालीको कार्यन्वयनमा आएपछि कार्गो ह्यान्डलिङ एजेन्टहरूले आफूहरूको रोजीरोटी गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन्। ईटीसीएस लागू भएपछि बन्दरगाहमा ती एजेन्टहरूको भूमिका समाप्त हुने छ।

काठमाडौं । एजेन्टहरुले हड्ताल गरेपछि तेस्रो मुलुकबाट नेपालमा आयात हुने सामान कोलकाता बन्दरगाहमा रोकिएका छन् । इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम (ईटीसीएस) प्रणालीको विरोध गर्दै नेपाली सामान आयातकर्ताका एजेन्टले कोलकातामा हड्ताल गरेका कारण नेपाली सामान बन्दरगाहमै अड्किएका हुन् ।

ईटीएस प्रणाली आउँदो फागुन ३ गतेदेखि लागु हुदैछ। तेस्रो मुलुकबाट नेपाल आउने सामानका कन्टेनरको कोलकाता बन्दरगाहमा कार्गो ह्यान्डलिङ एजेन्टहरूले भन्सार जाँचपास गराउने काम नगरिदिएपछि ७ दिनदेखि नेपालका लागि आयात गरिएका विभिन्न सामानका कन्टेनर कोलकाता बन्दरगाहमै रोकिएका हुन् ।

भारतको कोलकाता तथा हल्दिया बन्दरगाहबाट सिधै सामानका कन्टनेर नेपाल ल्याउन ईटीएस प्रणालीको कार्यन्वयनमा आएपछि कार्गो ह्यान्डलिङ एजेन्टहरूले आफूहरूको रोजीरोटी गुमेको भन्दै आन्दोलनमा उत्रिएका हुन् । ईटीसीएस लागु भएपछि बन्दरगाहमा ती एजेन्टहरूको भूमिका समाप्त हुने छ ।

ईटीसीएस कोलकाता बन्दरगाहबाट नेपाल सामान ल्याउनका लागि पहिलो पटक लागु गर्न लागिएको कोलकातास्थित नेपाली महावाणिज्य दूत एकनारायण अर्यालले बताए। सो प्रणाली लागु भएपछि कोलकातामा अहिलेसम्म लाग्ने कागजी झन्झट सबै समाप्त हुने उनले बताए। ईटीएस लागु भएपछि ५ दिनभित्र तेस्रो मुलुकबाट आयात गरिएका सामान नेपाल आइपुग्ने छन् ।

नेपालबाट सामान आयातकर्ताहरूले ८ वटा स्थानमा सामान आयात सम्बन्धी सक्कली कागजात पेश गरेपछि मात्र कोलकाताबाट सामान नेपाल ल्याउन पाइन्थ्यो ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजुका अनुसार अब यी कागजी प्रक्रिया समाप्त हुनेछ । उनले भने, हामीले यो प्रणाली विशाखापट्नममा पहिलादेखि नै लगाएका छौँ । तर कोलकातामा पुरानै परम्पराले सामान ल्याइँदा नेपालले बर्सेनि धेरै पैसा कन्टेनरका विलम्ब शुल्क वापत बुझाउनु पर्‍यो ।

उक्त प्रणाली लागु भएपछि कन्टेनरमा सीमकार्डको प्रयोग हुने सैंजुले जानकारी दिए। जस्ले गर्दा सामानका कन्टेनर कहाँ पुगेको छ भन्ने कुरा कन्टेनरको सरोकार राख्नेले थाहा पाउनेछन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सैंजुका अनुसार कोलकाताको आन्दोलनले केही दिन कोलकाताबाट सामान नेपाल आउन अवरोध हुनसक्छ। नेपाली सामान ढुवानीमा अवरोध भए त्यस्को विकल्प नेपाल सरकारले खोज्ने सैंजुको भनाइ छ ।

उनले भने, अब पहिलाको जस्तो एउटा बन्दरगाहमा मात्र भर पर्नु पर्ने अवस्था छैन । हामीसँग विशाखापटनम बन्दरगाह छ जहाँ अगाडि नै ईटीसीएस लागु भइसकेको छ। कोलकाताबाट हाम्रा सामान त्यता डाइभर्ट गर्छौं ।

सरकारी अधिकारीहरूका अनुसार उक्त इसिटिएस प्रणाली नेपालको पक्षमा छ। जसबाट नेपाली व्यवसायीहरूले वार्षिक तिर्दै आएका कन्टेनरको विलम्ब शुल्क वापतको करिब ८ अर्ब रुपैयाँ जोगिने छ । बीबीसीको सहयोगमा