‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकामा विषादी न्यूनीकरण अभियान सुरु भएको छ । ‘लबग्रिन नेपाल’को नेतृत्वमा वातावरणमैत्री एकीकृत दिगो कृषि विकास परियोजनामार्फत पाँच वर्षको अवधिमा रासायनिक विषादीको प्रयोगमा ९५ प्रतिशतले कमी ल्याउने अपेक्षा गरिएको छ ।
वातावरणमैत्री दिगो कृषिको अवधारणा स्थापित गरी रासायनिक मलको प्रयोगमा ९० प्रतिशतले कमी ल्याइने लबग्रिन नेपालका कार्यक्रम निर्देशक नारायण ज्ञवालीले बताए । दिगो कृषि, दिगो पशुपालन र वातावरण संरक्षणमा जोड दिँदै चार करोड ८५ लाख १६ हजार रुपैयाँको बजेट निर्माण भएको उनले जानकारी दिए ।
‘हामी पाँचखाल नगरपालिकाको रासायनिकमा आधारित कृषि अभ्यासलाई रसायनरहित र वातावरणमैत्री दिगो कृषि अभ्यासमा रुपान्तरण गर्न चाहन्छौँ,’ उनले भने । विषादी न्यूनीकरण अभियानअन्तर्गत आर्इपीएम कृषक पाठशाला सञ्चालन, आर्इपीएम प्रदर्शनीस्थल निर्माण तथा व्यवस्थापन, पशुमूत्र सङ्कलन, आधारभूत पशुपालन व्यवस्थापन तालिम, उन्नत घाँस उत्पादन, माटो परीक्षण प्रयोगशाला स्थापनामा सहयोगलगायतका विभिन्न कार्यक्रम सञ्चालन हुने बताइएको छ । यस कार्यक्रमबाट ६ सय कृषक लाभान्वित हुनेछन् ।
माटोको व्यवस्थापन र विषादी न्यूनीकरणको विषय सबैको साझा र चासोको विषय भएको जिल्ला समन्वय समिति, काभ्रेपलाञ्चोकका प्रमुख उद्धव केसीले बताए । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विषादी न्यूनीकरणका लागि विषादी मापनयन्त्रलाई भित्र्याउन लागिएको जानकारी दिँदै भू–संरक्षण नीति ल्याउन लागिएको बताए । ‘मापनयन्त्र आएपछि विषादी प्रयोग भएको तरकारीको उत्पादन बजारमा जान पाउने छैन,’ उनले भने । उक्त कार्यक्रम नगरपालिकाको दुईओटा वडाबाहेक सबैमा लागू हुनेछ ।