‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत चुहावट औसतमा २५.७८ प्रतिशत थियो । त्यसपछि आव २०७३/७४मा घटाएर २२.९मा झार्यौं, आव ०७४/७५मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालू आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौ’, उनले भने ।
काठमाडौं । नेपाल विद्युत प्राधिकरण चालू आर्थिक वर्ष २०७५/७६ को पहिलो ५ महिनामा विद्युत् चुहावट १५.४५ प्रतिशतमा झार्न सफल भएको छ । गत आर्थिक वर्ष २०७४/७५मा प्रणालीमा औसत २०.४५ प्रतिशत रहेको विद्युत् चुहावटलाई चालू आवको ५ महिनामै १५.४५मा झार्न प्राधिकरण सफल भएको हो ।
चालू आवमा विद्युत चुहावट १८.५प्रतिशतमा झार्ने लक्ष्य राखिएको छ । प्राधिकरणले लक्ष्यलाई पूरा गर्न धेरै विद्युत चुहावट भएका वितरण केन्द्रलाई धेरै र कम चुहावट भएकालाई कमको चुहावट नियन्त्रणको लक्ष्य दिएको छ ।
प्राधिकरणले चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महसुल बक्यौता असुलीमा कडाइ गर्ने, प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण तथा थप गर्ने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
कार्यकारी निर्देशक कुलमान घिसिङले प्राविधिक र गैर प्राविधिक चुहावट नियन्त्रणका लागि मुलुकभर अभियानकै रुपमा चालिएका कदमले विद्युत् चुहावटमा उल्लेख्य कमी आएको बताए ।
‘मैले २०७३ भदौमा जिम्मेवारी सम्हाल्दा विद्युत् चुहावट औसतमा २५.७८ प्रतिशत थियो, त्यसपछि आव २०७३/७४मा घटाएर २२.९मा झार्यौं, आव ०७४/७५मा २०.४५मा रहेको चुहावटलाई घटाएर चालू आवको पाँच महिनामै १५.४५ प्रतिशतमा सीमित गर्न सफल भएका छौ,’ उनले भने । ‘आवको बाँकी अवधिमा हाल रहेको चुहावटलाई अझै घटाउने गरी काम गरिरहेका छौं । यस कार्यमा विशेष गरी वितरण तथा ग्राहक सेवाअन्तर्गतका व्यवस्थापक र दिन रात नभनी खटिएका कर्मचारी साथीहरुको भूमिका महत्त्वपूर्ण छ ।
चुहावट नियन्त्रणका लागि राति खटिँदा हाम्रा कर्मचारीहरुले पिटाई समेत खाएका छन् ।’ प्राधिकरणले करिब १० प्रतिशतको चुहावट नियन्त्रणबाट वार्षिक करिब ७ अर्ब रुपैयाँ थप आम्दानी गर्नेछ ।
गृह, ऊर्जा मन्त्री तथा सचिव, प्रहरी महानिरीक्षक लगायतको बैठकले विद्युत् चोरी नियन्त्रणका लागि स्थानीय प्रशासन र प्रहरीलाई व्यापक रुपमा परिचालन गर्ने निर्णय गरेको थियो । ‘विद्युत् चोरी नियन्त्रण अभियानमा गृृह मन्त्रालय, जिल्ला प्रशासन तथा सुरक्षा निकायहरुबाट निरन्तर साथ र सहयोग पाइरहेका छौं, सबैको संयुक्त प्रयासले मात्र यो अभियान सफल हुनेछ’, घिसिङले भने ।
सबैभन्दा बढी राजस्व सङ्कलन गर्ने काठमाडौं क्षेत्रीय कार्यालयको गत वर्षको चुहावट ७.९४ प्रतिशत रहेकोमा चालू आवको पाँच महिनामा घटेर ७.७९ प्रतिशतमा सीमित भएको छ । क्षेत्रीय कार्यालयअन्तर्गतको भक्तपुर वितरण केन्द्रको चुहावट दुई वर्षअघि करिब ४० प्रतिशत रहेकोमा अहिले घटेर १३.७२ प्रतिशतमा झरेको छ । लगनखेल वितरण केन्द्रको दुई वर्षअघि करिब १५ प्रतिशत रहेको चुहावट अहिले घटेर ६.४१ मा सीमित भएको प्राधिकरणको तथ्याङ्क छ । प्राधिकरणले चोरी नियन्त्रणमा सहयोग नगरे बत्ती काट्ने (ब्ल्याक आउट) चेतावनी दिँदै आएको छ ।
दोस्रो बढी राजस्व सङ्कलन गर्ने हेटौंडा क्षेत्रीय कार्यालयको चुहावट १३.९१ प्रतिशत रहेकोमा घटेर ६.६६ प्रतिशतमा झरेको छ । औद्योगिक ग्राहक रहेको वीरगञ्ज र सिमरा र हेटौंडा वितरण केन्द्रले चुहावट घटाएका कारण हेटौडा क्षेत्रीय कार्यालयको चुहावटमा उल्लेख्य गिरावट आएको हो । गत असारसम्म १०.७२ प्रतिशत रहेको चुहावट मङ्सिरम्ममा घटेर २.५०मा झरेको छ ।
दुई वर्षअघि झण्डै ७० प्रतिशत चुहावट रहेको कलैया वितरण केन्द्रको अहिले घटेर ३९.९५ प्रतिशतमा झरेको छ । विराटनगर क्षेत्रीय कार्यालयको चुहावट १४.५१ प्रतिशत रहेकोमा घटेर ११.६१ प्रतिशतमा झरेको छ । यसैगरी, १४.१४ प्रतिशत चुहावट रहेको बुटवल क्षेत्रीय कार्यालयको चुहावट १३.२८ प्रतिशतमा झरेको छ । पोखरा क्षेत्रीय कार्यालयको चुहावट ११.४१ प्रतिशत रहेकोमा घटेर ८.६१ प्रतिशतमा सीमित राख्न प्राधिकरण सफल भएको छ ।
जनकपुर, नेपालगन्ज र अत्तरिया क्षेत्रीय कार्यालयको चुहावट क्रमशः ३४.३६,१५.८४ र १५.२९ प्रतिशत रहेकोमा घटेर २६.२४,९.७२ र १२.१९ प्रतिशतमा झरेको छ ।
प्रधिकरणले प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको सुदृढीकरण गर्ने तथा नयाँ बनाउने लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले दुई वर्षमा ५ हजार थान ट्रान्सफर्मर थप गरेको छ भने अगामी एक वर्षमा थप १० हजार थान थप्ने लक्ष्य राखी काम गरिरहेको छ । दुई वर्षको अवधिमा करिब १२ सय मेगावाटको प्रसारण तथा वितरण सबस्टेसनको क्षमता थप गरेकोे र एक वर्षभित्रमा करिब २ हजार ६०० मेगावाटको थप हुने कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।
‘प्रसारण लाइनतर्फ ६ सय सर्किट किलोमिटर थप गरिएको छ भने यस आव भित्रमा थप करिब ६ सय सर्किट किलोमिटर थप्छौं’,उनले भने । ‘वितरणतर्फ करिब ८ हजार किलोमिटर थप गरेका छौं, यस आव भित्रमा थप १० हजार किलोमिटर विस्तार गर्दैछौं,करिब ७ लाख मिटर जडान भैसकेको छ भने यस आव भित्रमा थप करिब ३ लाख मिटर जडान गर्नेछौं यसले प्राविधिक चुहावट नियन्त्रणका लागि धेरै सहयोग गर्ने छ ।’
प्राधिकरणले गैर प्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण गर्ने,महसुल बक्यौता असुलीमा कडाइ गर्ने, मिटर बाईपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारबाही गर्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गर्ने लागयतका काम अभियानकै रुपमा चलाइरहेको छ ।
मिटर लिन प्रोत्साहित गर्न सुकुम्वासीलाई पनि मीटर सहज रुपमा दिने, स्थानीय तहको सिफारिस विना नै मिटर जडान गर्ने, अति विपन्नहरुलाई निशुल्क मिटर वितरण गरिरहेको छ ।