हेजिङ फण्ड मन्त्रिपरिषदबाट स्वीकृत, राष्ट्र बैंकले कार्यान्वयनमा ल्याउँदै

मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत भएकाले केही दिनभित्रै हेजिङ फण्ड कार्यन्वयनमा ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बताए ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी लगानीमा सञ्चालन हुने आयोजना र उद्योग व्यवसायमा हुने डलर जोखिमलाई व्यवस्थापन गर्नका लागि हेजिङ फण्ड सञ्चालनमा ल्याउने भएको छ । मन्त्रिपरिषदबाट कार्यविधि स्वीकृत भएकाले केही दिनभित्रै हेजिङ फण्ड कार्यन्वयनमा ल्याउने नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीवी नेपालले बताए ।

सरकारबाट स्वीकृति भएकाले अब छिट्टै फण्ड सञ्चालनमा आउने उनको भनाई छ । मौद्रिक नीतिको समीक्षाका लागि आयोजित छलफलमा बोल्दै गभर्नर नेपालले हेजिङ फण्ड सञ्चालनको कार्यविधि जारी हुने जानकारी दिए । विदेशी लगानी निर्माण हुने जलविद्युतलगायत अन्य उद्योगलाई परिवर्त्य विदेशी मुद्रा जोखिम बढेपछि हेजिङ फण्ड अवधारणा कार्यन्वयनमा आउन लागेको हो ।

फण्ड सञ्चालनमा आएपछि विदेशी लगानीकर्ताले डलर जोखिम बहन गर्नु नपर्ने हुन्छ । डलर मजबुत र अवमूल्यन हुँदाको जोखिम फण्डले बेहाेर्ने छ । हेजिङ फण्डले विदेशी लगानीकर्तालाई आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

नेपाली र कोरियाको संयुक्त लगानीमा बन्न लागेको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ डलरमा विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेका आयोजनालगायत अन्य क्षेत्रमा आउने विदेशी लगानीको जोखिम अब सम्बोधन हुने छ ।

लगानीकर्ता, सरकार विद्युत प्राधिकरणलगायत सम्बन्धित निकायले राष्ट्र बैंकमा अलग खाता खोली हेज फण्डको सिर्जना गरिने छ । यस्तै विदेशी मुद्रा जोखिमको हेज फण्डको व्यवस्था नहुँदा बैंकहरुले विदेशबाट डलरमा ऋण लिन सकेका छैनन् ।