बनेपाका आइटी पार्कमा नोट छाप्ने सेक्युरिटी प्रेस राख्ने सरकारको तयारी, १ वर्षभित्र प्रेस सञ्चालनमा आउने

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने जानकारी दिए ।

काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क) मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी प्रेस) राखिने बताएका छन् ।

बनेपा नगरपालिका–६ बूडोलमा शनिबार शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भने, “आइटी पार्कमा आउँदो वर्ष सेक्युरिटी प्रेस राखिन्छ, यो राष्ट्रिय गौरवको योजना हो ।” उनले मन्त्रालयअन्तर्गतको उक्त पार्कमा राखिने सेक्युरिटी प्रेसमा पहिलो चरणमा पेपरवेस सेक्युरिट प्रिन्ट गरिने र दोस्रोचरणमा प्रविधि थपगर्दै प्लाष्टिक कार्डवेस प्रिन्टिङ गरिने जानकारी दिए ।

मन्त्री बाँस्कोटाले सेक्युरिटी प्रेस निरन्तर क्षमता अभिवृद्धि गर्दै नोट, राहदानी, हुलाक टिकट, तथा डिजिटल कार्डलगायतका सामग्री छापिने जानकारी दिए ।

उनले विकासको काम तीव्रताका साथ अगाडि बढेको बताए। ‘विकासले गति लिएको छ’ उनले थपे, “तपाईहरु ढुक्क हुनुहोस् यो गतिले अब कहिल्यै विश्राम लिने छैन ।” उनले सडक, विद्यालय, विश्वविद्यालय, अस्पताल, सञ्चार प्रविधि लगायतमा देश समृद्ध बनाउने विकासका काममा सरकार दत्तचित्त रहेको बताए ।

मन्त्री बाँस्कोटाले बनेपा नपाको समग्र विकासमा हाललाई ६ करोड रुपयाँ दिइएको र केही समयपछि ४ करोड रुपैयाँ थपिदिने बताए ।