राष्ट्र बैंकले व्याजदर उच्च भएको भन्दै आधार दर (बेस रेट) निर्धारण गर्दा प्रतिफलदरवापतको ०.७५ प्रतिशत हिस्सा जोड्न नपाउने गरी निर्देशन दिएपनि बैंकहरुले पुरानो ऋणको हकमा बेस रेटको व्यवस्था लागू नहुने बताएपछि उद्योगी÷व्यवसायी बैंकको व्याजदर विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुको निक्षेप र कर्जामा लिने व्याजको अन्तर (स्प्रेड रेट) चार प्रतिशतमा झार्नुपर्ने बताएका छन् । क्यापिटल विजनेश म्यागजिनसँग शनिबार विशेष कुराकानी गर्दै अहिले बैंकहरुले व्याजदर बढी भएकाले स्प्रेड रेट घटाउनुपर्ने बताएका हुन् । बैंकहरुको व्याजदर बढी भएको भनेर उद्योगीहरु सडकमा ओर्लिएका बेला अर्थमन्त्री खतिवडा पनि बैंकको व्याज घटाउन स्प्रेड घटाउनुपर्ने निस्कर्षमा पुगेका हुन् । आगामी दिनमा स्प्रेड घटाउन राष्ट्र बैंकले काम गर्ने पनि उनले जानकारी दिए ।
अहिले व्याजदर बढी भएर उद्योगधन्दा चलाउन नसकिएको भन्दै विराटनगरका उद्योगिहरु सडकमा आएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ पनि उद्योगीहरुको मागको समर्थन गर्दै विरोधमा देखिएको छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत स्प्रेड रेट ५ प्रतिशतमा सिमित गर्ने नीति अघि सारेको थियो । त्यसैअनुरुप केन्द्रीय बैंकले आगामी चैतसम्म ४.७५ प्रतिशत र २०७६ असारमा साढे ४ प्रतिशतमा सिमित गरिसक्नुपर्ने गरि निर्देशन दिइसकेको छ । त्यसैगरि राष्ट्रियस्तरका विकास बैंक र वित्त कम्पनीको स्प्रेट रेड २०७५ पुसपछि ५ प्रतिशत र क्षेत्रीस्तरका वित्तीय संस्थाको स्प्रेड रेट २०७६ असारपछि ५ प्रतिशत बढी भए कारवाही गर्ने निर्देशन दिइसकेको छ ।
राष्ट्र बैंकले व्याजदर उच्च भएको भन्दै आधार दर (बेस रेट) निर्धारण गर्दा प्रतिफल दर वापतको ०.७५ प्रतिशत हिस्सा जोड्न नपाउने गरी निर्देशन दिएपनि बैंकहरुले पुरानो ऋणको हकमा बेस रेटको व्यवस्था लागू नहुने बताएपछि उद्योगी/व्यवसायी बैंकको व्याजदर विरुद्ध आन्दोलनमा उत्रिएका हुन् ।
तर, अर्थमन्त्री खतिवडाले भने अहिलेको उद्योगीहरुको आन्दोलन कसका विरुद्ध हो भनेर समेत प्रश्न उठाएका छन् । “उहाँहरु मध्ये धेरै आफै बैंकर हुनुहुन्छ । त्यसकारण कस्ले कस्लाई भन्ने हो त्यो राम्ररी बुझेको छैन” अर्थमन्त्री खतिवडाले भने, “मैले उहाँहरुलाई भनेको छु, तपाईहरु देखिने गरी छुट्टिएर आउनुस ।” उद्योगी/व्यवसायी र बैंकर नछुट्टिएसम्म यस्ता समस्या दोहोरिरहने अर्थमन्त्री खतिवडाको भनाई छ ।
उनले अस्वभाविक रुपमा ब्याजदर नबढोस भन्नका लागि बैंक तथा वित्तिय संस्थाहरुलाई निक्षेपको सिमा एक ठाउँमा राख्न भनिएको जानकारी दिए । “श्रोतको लागत कम भएपछि लागत कम हुन्छ भनेर त्यसो गरिएको हो” उनले भने, “यस्को ‘रिजल्ट’ आउन केहि समय लाग्छ ।” बैंकहरु आफू मरेर उद्योग फस्टाउनु राम्रो होइन भन्दै अर्थमन्त्री खतिवडाले उद्योगीले पनि बैंक मारेर आफु फस्टाउने सोच राख्न नहुनेमा जोड दिए । “दुई ओटै नीजि क्षेत्र हुन र उनीहरुको सहकार्य आवश्यक छ । हाम्रो काम समन्वय गरिदिने हो जुन भईरहेको छ” अर्थमन्त्री खतिवडाले भने ।
(अर्थमन्त्री खतिवडाको विस्तृत अन्तर्वार्ता क्यापिटल विजनेश म्यागजिनको फागुन अङकमा)