भारतीय कन्टेनरको धन्दा– आउँदा सामान, फर्किंदा गाँजाचरेस

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंमा सामान छाडेर भारत फर्कंदै गरेको भारतीय कन्टेनरबाट ३ सय ६० किलो चरेससहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो

काठमाडौं : अवैध लागुऔषध गाँजाचरेस तस्करले भारतीय मालवाहक सवारीसाधन प्रयोग गरी चरेस तस्करी धन्दा बढाएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

गाँजाचरेसको मुख्य बजार भनेको भारत नै हो, तस्करले पहिला नेपाली मालवाहक सवारीसाधनमार्फत भारतीय सीमाक्षेत्रमा पुर्याउने र त्यहाँबाट उता भारतीय मालवाहक सवारीसाधन प्रयोग गरिन चरेस भारतीय बजारमा पठाउने गरेका थिए । तर पछिल्लो समयमा तस्करले काठमाडौंमा मालसामान छाड्न आएका भारतीय कन्टेनरमार्फत चरेस भारत तस्करी गर्ने गरेको खुलेको छ ।

शनिबार राति प्रहरीले धादिङको गजुरीबाट एक भारतीय कन्टेनरबाट ३ सय ६० किलो अवैध लागुऔषध चरेस बरामद गर्यो । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंमा सामान छाडेर भारत फर्कंदै गरेको भारतीय कन्टेनरबाट ३ सय ६० किलो चरेससहित तीनजना भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

भारतबाट सामग्री ल्याएर काठमाडौं आउने र काठमाडौंबाट फर्कंदा चरेस तथा गाँजा लैजाने गरेको सूचनापछि ब्युरोको टोलीले उक्त कन्टेनरको काठमाडौंदेखि पिछा गरेको थियो । काठमाडौंबाट फर्कंदै गरेको उक्त कन्टेनरले बीच बाटोमा चरेस हालेर भारततर्फ लैजाँदै गरेका बेला चरेससहित ३ भारतीय नागरिक पक्राउ गरेको ब्युरोका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए । शनिबार नियन्त्रणमा लिइएको कन्टेनरमार्फत यसअघि पनि भारततर्फ चरेस तस्करी हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

त्यसैगरी गत पुस १९ गते प्रहरीले धादिङको गजुरीबाटै २ सय ३५ किलो अवैध लागुऔषध चरेस बरामद गर्यो । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको टोलीले एचआर ३८ एस ९३७१ नम्बरको भारतीय ट्रकबाट मुग्लिङ, पर्सा हुँदै भारत लैजान लागिएको अवस्थामा सो चरेस बरामद गरेको थियो । प्रहरीले चरेससँगै चालक भारत उत्तर प्रदेशका सतेन्द्रसिंह बेघल र कारोबारी पर्सा परेर्वा सुगौली गाउँपालिका १ का मोहम्मद गद्दी पक्राउ गरेको थियो । त्यति बेला पक्राउ परेका गद्दी नौ महिनाअघि मात्र लागुऔषध मुद्दामै भारतमा साढे तीन वर्ष जेल भुक्तान गरी नेपाल फर्किएका थिए ।

चैतमा प्रहरीले धादिङको बैरेनीबाट भारतीय ट्रकबाट १ सय ७५ किलो चरेस बरामद गर्यो । धादिङको बैरेनी गाविस वडा–८ स्थित मछेडीखोलाबाट यूपी ७७ टी४८१३ नम्बरको ट्रकबाट प्रहरीले सो चरेस बरामद गरेको थियो । प्रहरीले आकस्मिक चेकजाँच थालेपछि चालकले ट्रक सडकमा साइट लगाएर फरार भएका थिए । चालक भागेको देखेपछि प्रहरीले ट्रकमा चेकजाँच गर्दा उक्त चरेस भेटियो । गरेको आकस्मिक चेकजाँचका क्रममा सोमबार बिहान पक्राउ गरिएको हो ।

गएको पुस १६ गते प्रहरीले वीरगन्जको सुक्खा बन्दगाहबाट १ सय ६० किलो अवैध चरेस बरामद गर्यो । मकवानपुरको लोथरबाट वीरगन्जस्थित बन्दरगाहमा पुगेको ना ४ ख २९८५ नम्बरको ट्रकबाट प्रहरीले उक्त चरेस बरामद गरेको थियो । उक्त चरेस लोड गर्न भारतीय कन्टेनर तयारी अवस्थामा थियो ।

पछिल्लो समयमा गाँजा/चरेस तस्करीले भारतीय मालवाहक साधन र पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करमा चरेस तस्करी गर्ने गरेको खुलेको छ । पछिल्लो सयमा काठमाडौंबाट फर्कंदै गरेका बेला चरेससहित प्रहरी नियन्त्रणमा भारतीय मालवाहक साधनलाई हेर्दा तस्करीले यस्तो उपाय लगाएको प्रहरीको निष्कर्ष छ ।

भारतीय साधनमा प्रहरीले खासै कडाइ नगर्ने र हेरिहाले पनि कागजपत्र मात्र हेर्ने भएका कारण तस्करले भारतीय कन्टेनर भारत तस्करी गर्ने गरेको प्रहरीको भनाइ छ ।

अवैध लागऔषध चरेसको मुख्यबजार भनेकै भारत हो, नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी दिनेश अमात्यले क्यापिटल नेपालसँग कुरा गर्दै भने, ‘पहिला नेपाली ट्रक तथा विभिन्न सवारीसाधनमार्फत भारतीय सीमासम्म चरेस तथा गाँजा जाने गर्थ्यो, अहिले भारतीय सवारीसाधनमार्फत भारत पुग्ने गर्छ ।

नेपाली ट्रकमार्फत लैजाँदा भारती सीमाक्षेत्रमा नेपाली ट्रकबाट निकाल्न र फेरि भारतीय ट्रक तथा कन्टेनरमा लोड गर्न झन्झट हुने भएपछि तस्करले सीधै भारतीय कन्टेनर तथा ट्रकमार्फत चरेस–गाँजा भारत सप्लाई गर्ने गरेको डीआईजी अमात्यको भनाइ छ ।