नेपाल उद्यमशीलता सम्मेलन २०१९ को तयारी सकियो

सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेपालमा उद्यम गरी सफल भएका ६ जना उद्यमीहरुबाट अनुभव तथा सफलता हासिल गर्ने उपायहरुका विषयमा समेत चर्चा हुने जनाएको छ ।

काठमाडौं : नेपाल उद्यमशीलता सम्मेलन २०१९ को तयारी पूरा भएको छ । उद्यमशीलताको विकास, नवीनतम सोच, प्रविधि र सिर्जनशीलताको प्रमुख भूमिका हुने र रोजगारी वृद्धिमा समेत सहयोग पुग्ने यथार्थतालाई दृष्टिगत गरी नेपाल उद्योग परिसङ्घ, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र विशाल मिडिया ग्रपुको संयुक्त आयोजनामा फागुन २ गते सम्मेलनको आयोजना हुन लागेको हो ।

उद्यमशीलतालाई आर्थिक संवाहकका रुपमा पहिचान गर्दै, साना, मझौला तथा ठूला उद्योग व्यवसाय एवम् देशभरिका नयाँ युवा उद्यमीबीचको सम्बन्ध विस्तार गर्ने, नयाँ प्रतिभा, प्रविधि, सिर्जनशीलताका साथै उद्यमशीलतालाई प्रवद्र्धन गर्ने र विदेशमा रहेका युवाहरुलाई स्वेदशमै उद्यम तथा व्यवसायमा लाग्न अभिप्रेरित गर्ने नीति तथा कानुनको पहिचान गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको जनाएको छ ।

सम्मेलनमा प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । यस्तै नेपालमा उद्यम गरी सफल भएका ६ जना उद्यमीहरुबाट अनुभव तथा सफलता हासिल गर्ने उपायहरुका विषयमा समेत चर्चा हुने जनाएको छ । ७ ओटै प्रदेशका उद्यमीहरु गरी करिब ४ सय जनाको सहभागी हुनेछन् । सम्मेलनको मुख्य प्रायोजन नबिल बैङ्क लिमिटेड रहेको छ भने अन्य सहयोग गर्ने संस्थाहरुमा देउराली जनता फर्मास्युटिकल्स प्रालि, होङ्सी– शिवम् सिमेन्ट, शिखर इन्स्योरेन्स, डिस होम मिडिया नेटवर्क, चन्द्रागिरि हिल्स, शङ्कर ग्रुप तथा हिलटेक इन्डस्ट्रिज रहेको छ ।