मस्कट फेस्टिभलमा नेपाल स्टल (फोटो फिचरसहित)

नेपाली स्टलमा विभिन्न नेपाली हस्तशिल्प, काठबाट निर्मित मयूर, पित्तल र काँसका भाँडाकुँडा, खुकुरी, ढाका टोपी तथा पर्स, चिया, पस्मिना, नेपाली वाद्ययन्त्र– डम्फु, मादल, सारङ्गी आदि प्रदर्शनीमा राखिएको छ ।

ओमानका लागि नेपाली राजदूत शर्मिला परजुली ढकालले राजधानी मस्कटको अमिरात पार्कमा आयोजित मस्कट फेस्टिभलमा सहभागी भएकी छन् । उनले उक्त अवसरमा मेलामा राखिएको नेपाल स्टलको उद्घाटनसमेत गरिन् ।

नेपाली स्टलमा विभिन्न नेपाली हस्तशिल्प, काठबाट निर्मित मयूर, पित्तल र काँसका भाँडाकुँडा, खुकुरी, ढाका टोपी तथा पर्स, चिया, पस्मिना, नेपाली वाद्ययन्त्र– डम्फु, मादल, सारङ्गी आदि प्रदर्शनीमा राखिएको छ । सगरमाथा, धौलागिरि, माछापुच्छ«े र काठमाडौंका अन्य सांस्कृतिक स्थल, भक्तपुर, ललितपुरका आकर्षक फोटोफ्रेम राखिएका छन् । स्टाल अवलोकन गर्न आएका पाहुनाहरुलाई ग्रीन टी, हिमालयन ह्वाइट टीसहित विभिन्न चियाले स्वागत गरिएको थियो । उद्घाटनका अवसरमा दुईओटा लोक तथा सांस्कृतिक नृत्यसमेत प्रस्तुत गरिएको थियो, जसले दर्शकहरुलाई मन्त्रमुग्ध पारेको थियो ।

मेलामा नेपाली सहभागिताले ओमानसहित अन्य राष्ट्रका पर्यटकलाई नेपालबारे जानकारी लिन र यहाँको भ्रमण गर्न प्रेरित गर्नेछ भन्ने दूतावासको विश्वास छ । यसले नेपाल र ओमानबीच विद्यमान आर्थिक, समाजिक तथा राजनीतिक सम्बन्धहरु अझ प्रगाढ बन्दै जाने दूतावासको भनाइ छ ।
मस्कट नगरपालिकाले आयोजना गरेको मेलामा पटाका, फायरवक्र्स, नाटक, लोककथा, विभिन्न गेम सो, अफ्रिकन सो, एयर–ट्रम्पोलिन सो, एक्रोबेटिक इभेन्ट, जागरूकता कार्यक्रम, कार्टुन चित्रण, बच्चा र वयस्कका लागि प्रतियोगिता तथा मनोरञ्जनात्मक कार्यक्रमहरुको आयोजना गरिएको छ । मेलामा नेपाल, यूएईसहित विभिन्न देशका दूतावासले भाग लिएका छन् ।

मस्कट फेस्टिभल १८ जनवरीदेखि १० फेब्रुअरीसम्म हुँदै छ । नेपाली दूतावास मस्कट फेस्टिभलमा सहभागी भएको यो पहिलो पटक हो ।