सार्क देशका लगानीकर्तामाझ ढकालले भने, ‘नेपालमा लगानी गर्नु्स्, वातावरण राम्रो छ’

दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताए ।

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रोजगारदाता परिषद्का अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी गर्न सार्क देशका रोजगारदाता एवम् लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

दक्षिण एसियाली रोजगारदाता मञ्चको सोमबारदेखि नयाँ दिल्लीमा शुरु भएको आठौँ बैठकलाई सम्बोधन गर्दै उनले नेपालमा श्रम तथा सामाजिक सुरक्षासम्बन्धी उपयुक्त कानुनहरु निर्माण भएका, यसका कारण रोजगारदाता र श्रमिकबीचको सम्बन्ध राम्रो भएको तथा हाल मुलुकले राजनीतिक स्थायित्व पनि प्राप्त गरेकोले लगानीको वातावरण बनेको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष रहेका ढकालले नेपालमा लामो राजनीतिक संक्रमणपछि स्थीर सरकार बनेको र लगानीमैत्री वातावरण निर्माण हुने अपेक्षा गरिएकोले नेपालका कृषि, पर्यटन, उर्जा, सेवा क्षेत्र लगायतका क्षेत्रमा लगानीका लागि विदेशी लगानीकर्ताहरुलाई आग्रह गरे ।

नेपाल सरकारले आगामी महिना लगानी सम्मेलनको आयोजना गरेको र नेपालमा लगानीका थूप्रै सम्भावनाहरु रहेको स्मरण गराउँदै उनले सो सम्मेलनमा सहभागी भई नेपालमा तिनको अध्ययन र पहिचान गर्न सार्क क्षेत्रका लगानीकर्ताहरुलाई आमन्त्रणसमेत गरे ।

श्रमिकका समस्याका विषयलाई सम्बोधन गर्नेगरी श्रमसम्बन्धी कानुन निर्माण भएका, देशमा राजनीतिक स्थिरता देखिएको र वैदेशिक लगानीका लागि लगानीमैत्री वातावरण निर्माणमा सरकार लागिपरेकोले नेपालमा सम्भावना रहेका कैयौँ क्षेत्रहरुमा लगानी गरी पारस्पारिक आर्थिक लाभ लिन सार्क क्षेत्रका लगानीकर्ताहरुलाई उनले आग्रह गरे ।

उनले नेपाल सरकारद्धारा हालै जारी गरिएका श्रम तथा सामाजिक सुरक्षासम्बन्धी कानुनको कार्यान्वयनका साथै श्रम बजारको विस्तार एवम् प्रादेशिक रुपमा श्रमिकहरुको क्षमता अभिबृद्धि गरी मुलुकमा औद्योगिक विकास र प्रवर्धनमा जोड दिए।