बीपीसीले हिमाल पावरबाट पायो साढे ५९ करोड लाभांश, २ वर्षपछि सेयरधनीले पाउने प्रतिफल घट्ने

आधा स्वामित्व विद्युत् प्राधिकरणमा आउने र हाल डलर पीपीएको समय सकिने भएपछि बीपीसीले हिमाल पावरबाट पाउने लाभांशमा भारी कटौती हुने छ । आउँदो २ वर्षपछि बीपीसीले पाउने लाभांश र नाफामा गिरावट आउने देखिएको छ ।

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) ले हिमाल पावर लिमिटेडबाट पाउने लाभांश बढेको छ । हिमालले गत आर्थिक वर्षमा गरेको नाफाबाट ५९ करोड ५३ लाख ४५ हजार रुपैयाँ लाभांश पाएको हो ।

गत वर्ष बीपीसीले हिमालबाट ४९ करोड ८९ लाख ९७ हजार रुपैयाँ लाभांश पाएको थियो । गत वर्षभन्दा यस वर्ष ९ करोड ६३ लाख ४८ हजार रुपैयाँ बढी लाभांश पाएको छ । हिमालबाट पाउने लाभांश बढेपछि बीपीसीको नाफा चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा खुदनाफा २२.९ प्रतिशत बढेर ७५ करोड ८२ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६१ करोड ७० लाख रुपैयाँ खुदनाफा गरेको थियो ।

हिमालमा बीपीसीको १६.८८ प्रतिशत स्वामित्व छ । हिमालले ६० मेगावाटको माथिल्लो खिम्ती जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । आगामी सन् २०२० को जुनमा खिम्तीको आधा स्वामित्व नेपाल विद्युत् प्राधिकरणलाई हस्तान्तरण हुने र हिमाल पावरसँग भएको विद्युत् खरिदबिक्री सम्झौता (पीपीए) को समय पनि सकिने छ ।

आधा स्वामित्व विद्युत् प्राधिकरणमा आउने र हाल डलर पीपीएको समय सकिने भएपछि बीपीसीले हिमाल पावरबाट पाउने लाभांशमा भारी कटौती हुने छ । आउँदो २ वर्षपछि बीपीसीले पाउने लाभांश र नाफामा गिरावट आउने देखिएको छ ।

बीपीसीले आफ्नै लगानीमा ३० मेगावाटको न्यादी र ३७.६ मेगावाटको काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यी दुई आयोजना सञ्चालनमा आएको केही वर्षपछि लाभांश थप हुने छ । तर, यस अवधिमा केही समय लगानीकर्ताले न्यून लाभांश पाउने देखिएको हो ।

बीपीसीले आँधिखोला र झिम्रुक आयोजना सञ्चालनबाट ३८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा ४० करोड ४८ लाख रुपैयाँ आम्दानी गरेको थियो । गत वर्षको तुलनामा यो वर्ष २ करोड रुपैयाँ आम्दानी घटेको बीपीसीले सार्वजनिक गरेको दोस्रो त्रैमासको वित्तीय विवरणमा उल्लेख छ ।

चिनियाँ कम्पनीसँगको साझेदारीमा १३०० मेगावाट बनाउने
बीपीसीले सिचुवान प्रोभेन्सियल इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड, छेन्दुछेनचेङ इन्भेस्टमेन्ट ग्रुप कम्पनी लिमिटेड र क्विङयुन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको साझेदारीमा जलविद्युत् आयोजना निर्माण थालेको छ । आयोजना निर्माणमा लगानी एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड गठन भइसकेको छ । यसमा बीपीसीको १९ प्रतिशत स्वामित्व छ ।

एसीआईजी इन्टरनेसनले १६० मेगावाटको मुगुकर्णाली, ६०० मेगावाटको माथिल्लो मस्र्याङ्दी दोस्रो, ८.५ मेगावाटको चिनोखोला, २८२ मेगावाटको मनाङ मस्र्याङ्दी तथा १४० मेगावाटको तल्लो मनाङ आयोजना आयोजना बनाउन लागेको छ । सम्झौताअनुसार ३ ओटा चिनियाँ कम्पनीले संयुक्तरुपमा एसीआईजीमार्फत २ अर्ब डलर अर्थात् २ खर्ब रुपैयाँ विदेशी लगानी ल्याउने सम्झौता भएको थियो । सोही सम्झौताबमोजिम एसीआईजीले दुई ठूला आयोजनाको सम्पूर्ण स्वामित्व खरिद गरेको हो । एसीआईजीले माथिल्लो मस्र्याङ्दीको स्वामित्व खरिद गरिसकेको छ । ५ वर्षमा २ अर्ब डलर अर्थात् २ खर्ब रुपैयाँ जलविद्युतमा लगानी गर्ने सहमतिबमोजिम आयोजना एसीआईजीमार्फत् काम अघि बढेको हो ।

बीपीसीले आफ्नो लगानीमा न्यादी र काबेली ‘ए’ आयोजना निर्माण गरिरहेको छ । दुवै आयोजना सन् २०२० को अप्रिलमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।