महायज्ञमा ९० लाख दान सङ्कलन

महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले २० लाख ११ हजार १११ रुपैयाँ दान गरेका हुन् । 

घोराही । घोराही उपमहानगरपालिकास्थित जयशेर माध्यमिक विद्यालय रावतगाउँमा प्राविधिक शिक्षा सञ्चालनका लागि आयोजना गरिएको श्रीमद्भागवत धनधान्याञ्चल विराट नवाह ज्ञान महायज्ञमा ९० लाख रुपैयाँभन्दा बढी दान सङ्कलन भएको छ । महायज्ञको अन्तिम दिनसम्म ९० लाख रुपैयाँ दान सङ्कलन भएको आर्थिक समितिले जानकारी दिएको छ ।

महायज्ञमा हिजो मङ्गलबार एकै परिवारले २० लाखभन्दा बढी दान गरेका छन् । महायज्ञका निर्देशक रेखबहादुर वलीका अनुसार घोराही उपमहानगरपालिका–६ कम्दा निवासी घनश्याम वलीका परिवारले २० लाख ११ हजार १११ रुपैयाँ दान गरेका हुन् ।

ठूलो रकम दान दिनेहरुमा घोराही उपमहानगरपालिका–६ बचा निवासी केशव महराले छ लाख ८० हजार, चोरगाउँ निवासी जगवीर चौधरीले पाँच लाख ६१ हजार, पन्नेपुर निवासी चुर्णबहादुर वलीले दुई लाख ७१ हजार पाँच, वडा नं ७ निवासी रेवतादेवी योगी र छोरा वलदेव योगीले तीन लाख एक हजार १०५ रुपैयाँ छन् ।

वडा नं १६ सर्रा निवासी प्रवीण भण्डारी र आमा बोधादेवी भण्डारीले दुई लाख पाँच हजार ५५५ र बाँके जिल्ला कोहलपुर निवासी प्रमोद श्रेष्ठ र मीना श्रेष्ठले एक लाख १६ हजार १११ दान दिएको समितिले जनाएको छ । महायज्ञमा मुख्यवाचक पण्डित अमृतशरण देवाचार्य छन् ।

विद्यालयको उद्देश्य प्राप्तिका लागि महायज्ञमा सक्दो सहयोग गर्न महायज्ञका निर्देशक रेखबहादुर वलीले सबैमा अनुरोध गरेका छन् । यही माघ २२ गतेदेखि शुरु भएको महायज्ञको आज समापन हँुदैछ ।