राष्ट्र बैङ्कको तथ्याङ्कमा लापरवाही, शोधनान्तर घाटा २२ अर्बले सुधार

आर्थिक वर्षको सुरुवातदेखि नै हरेक महिनाको जोडिँदै आउँछ । राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको ६ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ छ । जबकि यस्तो लगानी ५ महिनामै ६ अर्ब ७८ करोड रुपैयाँ देखिन्छ ।

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले चालू आर्थिक वर्षको मासिक तथ्याङ्क प्रस्तुत गर्दा गडबडी गरेको छ । प्रत्यक्ष वैदेशिक लगानीको सेगमेन्टमा चालू वर्षको ५ महिनामा भन्दा ६ महिनामा कम लगानी आएको देखिएको छ । जबकि यस्तो लगानी महिना महिनाको फरक फरक हुँदैन । आर्थिक वर्षको सुरुवातदेखि नै हरेक महिनाको जोडिँदै आउँछ । राष्ट्र बैङ्कले बुधबार सार्वजनिक गरेको ६ महिनाको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’मा प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ छ । जबकि यस्तो लगानी ५ महिनामै ६ अर्ब ७८ करोड रुपैयाँ देखिन्छ । तर, गत वर्षको ६ र ५ महिनामा भने क्रमशः १४ अर्ब ३३ करोड र ११ अर्ब १२ करोड रुपैयाँ वैदेशिक लगानी आएको देखिन्छ ।

६ महिनाको तथ्याङ्क

५ महिनाको तथ्याङ्क

देशभित्र आउने विदेशी मुद्रा र देशबाट बाहिरिने मुद्राको अन्तर (शोधनान्तर स्थिति)मा सुधार देखिएको छ । चालू आर्थिक वर्षको मङ्सिरमा ८५ अर्ब ३२ करोड शोधनान्तर घाटा रहेकोमा एक महिनामा २२ अर्बले सुधार आउँदै ६३ अर्ब ६८ करोडमा सीमित भएको छ । शोधनान्तर घाटा अघिल्लो वर्षको ६ महिनाको तुलनामा भने झन्डै १० गुणाले बढी हो । २०७४ पुसमा शोधनान्तर घाटा ६ अर्ब ६६ करोड रुपैयाँ थियो । अमेरिकी डलरमा भने शोधनान्तर घाटा ५५ करोड ९५ लाख छ । अघिल्लो वर्ष यस्तो घाटा ६ करोड ५६ लाख डलर मात्रै थियो ।

तर, चालू खाता घाटा भने बढेको छ । ५ महिनामा चालू खाता घाटा १ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा ६ महिनामा भने १ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको ६ महिनामा चालू खाता घाटा ९७ अर्ब ७८ करोड रुपैयाँ थियो ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६ अर्ब ८९ करोड र प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १० अर्ब ७ करोड र प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ३३ करोड रुपैयाँ थियो ।