जिल्ला अदालत काठमाडौंका नासु चालिसेमाथि भ्रष्टाचार मुद्दा

सवारी ज्यान मुद्दालाई कमजोर बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस खाएको अभियोगमा अख्तियारको टोलीले नासु चालिसेलाई जिल्ला अदालत काठमाडौंबाट नियन्त्रण लिएर अनुसन्धान थालेको थियो ।

काठमाडौं । अख्तियार दुरपयोग अनुसन्धान आयोगले जिल्ला अदालत काठमाडौंका नासु भोलानाथ चालिसेविरुद्ध विषेश अदालतमा मुद्दा दायर गरेको छ ।

सवारी ज्यान मुद्दालाई कमजोर बनाइदिने भन्दै सेवाग्राहीसँग ५ लाख घुस खाएको अभियोगमा अख्तियारको टोलीले नासु चालिसेलाई जिल्ला अदालत काठमाडौंबाट नियन्त्रण लिएर अनुसन्धान थालेको थियो ।

अख्तियारले नासु चालिसेविरुद्ध बुधबार विषेशमा भ्रष्टाचारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले बताए । चालिसेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० अनुसार ५ लाख बिगो कायम गरी मुद्दा दायर गरिको प्रवक्ता दंगालले बताए ।

अनुसन्धानको क्रममा चालिसेले जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको समेत नाम पोलेपछि अख्तियारले उनीमाथि अनुसन्धान गर्न सर्वोच्चलाई सिफारिस गरेको थियो ।

नासु चालिसेले न्यायाधीश बानियाँको सहमतिमै सेवाग्राहीसँग रकम लिएको बयान दिएका थिए । अख्तियारको सिफारिसपछि न्यायाधीश बानियाँलाई सर्वोच्चले न्याय परिषदमा तानेर अनुसन्धान थालेको छ ।