काठमाडौं । बैङ्कर र उद्योगी छुटिएर नआएकाले ब्याजदरको समस्या हल गर्न नसकिएको अर्थमन्त्री युवराज खतिवडाले बताएका छन् ।
‘बैङ्कर र उद्योगी एकै व्यक्ति हुने अनि कसरी समस्या समाधान हुन्छ?’ हेस्टर बायोसाइन्सेज् प्रालिको औपचारिक कार्यक्रमा बोल्दै भने, ‘पहिला उद्योगी र बैङ्कर छुटिएर आउनुस्, अनि समस्या समाधान गर्न सजिलो हुन्छ ।’
‘आफै बैङ्क चलाएर बस्ने अनी ब्याजदर महँङ्गो भयो, अर्थमन्त्रालयले हस्तक्षेप गर्नुपर्यो भनेर आउने । त्यो कुरा मिलने’ उनले भने, ‘सरकारले को बैङ्कर को उद्योगी भनेर छुट्याउन सकेको छैन । छुटिएर आउनुस्, त्यस पछि सरकारले के गर्नुपर्छ गर्छ ।’ ‘धेरैजसो उद्योगी नै बैङ्कको अध्यक्ष हुनुहुन्छ । उहाँहरु नै बैङ्कको नाफा बढाउन होडबाजी गर्नुहुन्छ । त्यही बैङ्कको अध्यक्ष सरकारसँग ब्याजदर घटाउनुपर्यो भनेर आउने गर्नुभएको छ,’ खतिवडाले भने, ‘यो कतिको व्यवहारिक छ ।’
उनले कतिपय बैङ्कको नाफा घटेकै कारण बैङ्कबाट प्रमुख कार्यकारी अघिकृत (सीईओ) समेत हटाउने गरेको बताए । एकातिर बैङ्कका प्रमुख कार्यकारीलाई नाफा बढाउन दबाब दिने, अर्कोतिर बैङ्कको ब्याजदर महङ्गो भयो, घटाउनु पर्यो भनेर सडकमा ओर्लिने ? । यो तरिका ठिक नभएको उनको भनाइ छ ।
ब्याजदर बढेकाले उत्पादन लागत बढी भएको छ । त्यो कुरा सरकारले महशुस गरेको छ । तर, सरकारले कसरी हस्तक्षेप गर्ने ? यदि सरकारले नै हस्तक्षेप गर्नुपर्ने अवस्था आयो भने त्यो अत्यन्तै नराम्रो हुने उनको भनाइ छ ।
त्यसैगरी, कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा लगानीकोे वातावरण बनिसकेको हेस्टर बायोसाइन्सेज् प्रालि खुलेपछि पुस्टि भएको बताए । ‘सबैले देशमा लगानीको वातावरण छैन्, नीति अनुकूल छैनन्, सरकार लगानीमैत्री छैन्, भन्नेलाई यसले गतिलो झापड दिएको उनको भनाइ छ ।
पूर्ण रुपमा नेपालको कच्चा पदार्थ प्रयोग गरेर उत्पादन हुने भ्याक्सिन नेपाली बजारमा मात्रै नभइ विश्व बजारमा समेत निर्यात हुँदा विदेशी मुद्रा समेत आर्जन हुने ओलीको भनाइ छ । ‘नेपालमा उच्च प्रविधियुक्त, दक्ष कामदारको प्रयोगबाट पनि नेपालमै पहिलो पटक भ्याक्सिन उत्पादन सम्भव भएको छ,’ उनले भने, ‘हाम्रा देशमा बैज्ञानिक रहेछन्, उनीहरु पनि भ्याक्सिन बनाउन सक्ने रहेछन्, भन्ने यो उद्योग खुलेपछि पुस्टि भएको छ ।’
हेस्टर बायोसाइन्सेज् प्रालिका अध्यक्ष राजीव गान्धीले नेपाालमा लगानीको वातावरण बनिसकेको बताए । ‘मलाई लागेको थियो, नेपालमा दक्ष कामदार छैनन्, लगानीकोे वातावरण बनेको छैन्,’ उनले भने, ‘तर, त्यो गलत सावित भएको छ ।’
उनका अनुसार हेस्टरबाट बार्षिक १ करोड २० लाख डोज भ्याक्सिन उत्पादन हुने गान्धीले बताए । नेपालमा उत्पादित ९० प्रतिशत भ्याक्सिन निर्यात हुने राहुलको भनाइ छ । काभ्रेको बनेपा नगरपालिकामा स्थापना भएको उद्योगका ६५ करोड रुपैयाँ लगानी भएको उनको भनाइ छ ।
उनका अनुसार हाल १७ ओटा भ्याक्सिन उत्पादनका लागि सरकारले अनुमति दिएकोे र थप २७ ओटा भ्याक्सिन उत्पादनका लागि लाइसेन्स लिने प्रक्रियामा रहेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाले देशभित्र लगानीको वातावरण बन्दै गएको बताइन् । नयाँ–नयाँ उद्योग लाग्न थालेकाले देशभित्र लगानी अनुकूल बन्दै गएको बताइन । यो सरकार गठन भएको एक वर्ष पुगेको र यो समयमा सरकारले धरै राम्रो काम गरेको बताइन ।
हेस्टर बायोसाइन्सेज् प्राालिका निर्देशक शेखर गोल्छाले नेपालको मागलाई धानेर पनि भ्याक्सिन विदेश पठाउने बताए । ‘हाम्रो उद्योगको ९० प्रतिशत भ्याक्सिन विदेश निर्यात हुन्छ,’ उनले भने ।
हेस्टर बायोसाइन्सेजले तयार गर्यो बर्डफ्लुको औषधि बनाउने संरचना, लाइसेन्सको पर्खाइमा
नेपाल उद्योग वाणिज्य महासङ्घका बरिष्ठ उपाध्यक्ष समेत रहेका गोल्छाले केही समय पछि उद्योगले बर्डफ्लुको औषधि समेत उत्पादन गर्ने बताए । ‘बर्डफ्लुको औषधि बनाउन आवश्यक संरचना तयार छ, मात्रै सरकारले लाइसेन्स उपलब्ध गराउनु पर्छ,’ उनले भने, ‘सरकारले आज लाइसेन्स दिए, भोलिबाट बर्डफ्लुको औषधि बनाउन सक्छौं ।’