उद्योगलाई ‘एक्जीम कोड’

विसं २०७४ साउन १ गतेदेखि ५० हजार रुपैयाँभन्दा बढी मूल्यबराबरका सामान आयात तथा पाँच लाखभन्दा बढी मूल्यबराबरका सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोड’ प्रदान गरिएको हो ।

काठमाडौं । उद्योग विभागले चालू आर्थिक वर्षमा १३३ साना, मझौला तथा ठूला उद्योगलाई आयात निर्यात सङ्केत (एक्जीम कोड) प्रदान गरेको छ ।

विसं २०७४ साउन १ गतेदेखि ५० हजार रुपैयाँभन्दा बढी मूल्यबराबरका सामान आयात तथा पाँच लाखभन्दा बढी मूल्यबराबरका सामान निर्यातका लागि अनिवार्य रुपमा ‘एक्जीम कोड’ लिनुपर्ने व्यवस्थाअनुसार चालू आवमा १३३ उद्योगलाई ‘एक्जीम कोड’ प्रदान गरिएको हो ।

उद्योग विभागले एक्जीम कोड लिनका लागि आवश्यक कागजात र मापदण्ड पूरा गरेका उद्योगलाई भन्सार विभागमा सिफारिस गर्दै आएको छ । गत आवमा घरेलु तथा साना उद्योग विभागले ‘एक्जीम कोड’ लिनका लागि भन्सार विभागमा सिफारिस गर्ने भए पनि चालू आवबाट उक्त विभाग उद्योग विभागमा गाभिएपछि उद्योग विभागले ‘एक्जीम कोड’का लागि भन्सार विभागलाई सिफारिस गर्दै आएको छ ।

विभागका सूचना अधिकारी जीवनराज सेढाईं सरकारले अनिवार्य रुपमा एक्जीम कोड लिई आयात निर्यातको काम गर्नुपर्ने व्यवस्था गरेकाले ‘एक्जीम कोड’ लिनेको सङ्ख्यामा वृद्धि भएको बताउँछन् । ‘कोड नलिईकन आयात निर्यातको काम गर्न मिल्दैन,’ उनले भने । एक्जीम कोड नलिएका उद्योगले सामान आयात तथा निर्यात गर्न नमिल्ने व्यवस्था गरिएको छ ।

विभागले प्यान÷भ्याटमा दर्ता भएका उद्योग, उद्योग र वाणिज्यमा दर्ता भएका उद्योग, आयातका लागि १० लाख र निर्यातका लागि तीन लाख रुपैयाँ बैङ्क ग्यारेन्टी गरेको तथा कर चुक्ता प्रमाणपत्र भएको उद्योगलाई ‘एक्जीम कोड’ प्रदान गर्दै आएको छ । यस्तै वाणिज्यका सामग्री आयात तथा निर्यातका लागि भने वाणिज्य विभागबाट ‘एक्जीम कोड’ लिनुपर्ने व्यवस्था गरिएको छ । रासस