सरकारी, गैरसरकारी तथा निजी संस्था तथा निवासमा जडान गरिएका सीसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ ओटा सीसीटीभी क्यामरा जडान गरिएका छन् । यीमध्ये अधिकांश सीसी क्यामरा कानुनविपरीत अनुमतिबिनै जडान भएका छन् ।
बाँके । बाँकेको नेपालगञ्जलगायत क्षेत्रमा २०० भन्दा बढी स्थानमा सीसी क्यामरा जडान गरिएका छन् । अधिकांश ठाउँमा जिल्ला प्रशासन कार्यालयको अनुमतिबिनै सीसी क्यामरा जडान गरिएको पाइएको छ ।
सरकारी, गैरसरकारी तथा निजी संस्था तथा निवासमा जडान गरिएका सीसी क्यामराको जिल्ला प्रशासनसँग यकिन विवरण छैन । नेपालगञ्जको सुर्खेत रोडमा मात्रै ५६ ओटा सीसीटीभी क्यामरा जडान गरिएका छन् । यीमध्ये अधिकांश सीसी क्यामरा कानुनविपरीत अनुमतिबिनै जडान भएका छन् । केही जडानकर्ता निकायले जडान गर्दा अनुमति लिए पनि त्यसपछि नवीकरण गरेका छैनन् । बाँकेमा ३८ संस्थाले मात्र सीसी क्यामरा राख्न अनुमति लिएका छन् ।
सडकमा मात्रै नभई नेपालगञ्ज र कोहलपुर क्षेत्रमा सञ्चालन भइरहेका सामान्यदेखि उच्चस्तरका होटललेसमेत अनुमतिबिनै सीसी क्यामरा जडान गरेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन अर्यालका अनुसार नेपालगञ्जस्थित ठूला होटल स्नेहा, सिद्धार्थ र सोल्टीमा जडान गरिएका सीसी क्यामरा मापदण्डविपरीत देखिएका छन् । यी होटलमा जडित क्यामरा प्रशासनको अनुमतिबिना जडान गरिएको पाइएको छ ।
नेपालगञ्ज र कोहलपुरका अधिकांश होटलले क्यामरा जडान गरे पनि प्रशासनको अनुमति लिएका छैनन् । नेपालमै नाम चलेका सोल्टी, सिद्धार्थ भ्यूका साथै नेपालगञ्जका चर्चित होटल सिटी प्यालेस, ग्यालेक्सी दरबार, सिग्नेट र स्नेहामासमेत अनुमतिबिनै सीसी क्यामरा जडान गरेको पाइएको छ । नेपालगञ्जको किचन हटले भने सरकारी मापदण्ड र प्रशासनको अनुमति लिएरै सीसी क्यामरा जडान गरेको छ । पूर्वराजा ज्ञानेन्द्रको लगानीमा सञ्चालित होटल सोल्टी र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष भवानी राणाको लगानीमा रहेको होटल स्नेहालेसमेत सीसी क्यामरा जडानको अनुमति नलिएको सहायक प्रजिअ अर्यालले बताए ।
करोडौं रुपैयाँ लगानीका होटलका साथै गैरसरकारी संस्था र निजी कम्पनीले सरकारी नीति तथा नियमको उलङ्घन गरेको पाइएको छ । रोकथाम तथा यस्ता निकायलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायले चासो दिएका छैनन् । जिल्लामा जताततै सीसी क्यामरा जडान गरिएका र अनुमति लिनेको सङ्ख्यामा कमी देखिएपछि जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि कडाइ गर्न थालेको छ ।
जिल्ला प्रशासन कार्यालयले सीसी क्यामरा जडान गरेर पनि मापदण्ड पूरा नगरेका वा अनुमतिबिनै क्यामरा जडान गरेका होटल, गैरसरकारी, सरकारी निकाय र निजी कम्पनीलाई सात दिनभित्र अनुमित लिई मापदण्ड पु¥याएर मात्रै क्यामरा जडान गर्न निर्देशन दिएको छ । कार्यालयका अनुसार तोकिएको सयमभित्रै अनुमति नलिए कानुनले तोकेअनुसारको कारबाही गरिनेछ ।
सहायक प्रजिअ अर्यालले सीसी क्यामरा राख्न अनुमति लिएकाले पनि अपनाउनु पर्ने सामान्य प्रक्रिया पूरा नगरेको बताए । ‘सीसी क्यामेरा राख्ने अनुमति लिएकाले कम्तीमा ९० दिनसम्म रेकर्ड सुरक्षित राख्नुपर्छ, सूचना स्पष्ट देखिने गरी राख्नुपर्छ । अधिकांशले मापदण्ड पूरा गरेका छैनन्,’ उनले भने । –काशीराम शर्मा रासस