सांसद मनाङ्गेको कटाक्ष– मैले ठमेल बनाएँ, ठमेलले गुण्डा बनाइदियो

ठमेल पर्यटक परिषदले बिहीबार गरेको कार्यक्रममा भेला भएका व्यापारीलाई सम्बोधन गर्दै सांसद मनाङ्गेले भने, ‘ठमेल यसै भएको हैन । कुनै बेला प्रहरीले दुख दिन्थ्यो, व्यापारीहरु सबै डराउँथे । प्रहरीलाई हप्काउँदै ठमेलमा गलत काम गर्न दिएको थिइनँ । त्यसको साटो गुण्डा भनेर उपाधि दिए ।’

काठमाडौं । प्रदेश ४ का सांसद दीपक मनाङ्गेले आफूले नचिनिएको ठमेललाई ठमेल भनेर चिनाए पनि त्यही ठमेलले आफूलाई गुण्डा बनाएको भनेर कटाक्ष गरे ।

ठमेल पर्यटक परिषदले बिहीबार गरेको कार्यक्रममा भेला भएका व्यापारीलाई सम्बोधन गर्दै सांसद मनाङ्गेले भने, ‘ठमेल यसै भएको हैन । कुनै बेला प्रहरीले दुख दिन्थ्यो, व्यापारीहरु सबै डराउँथे । प्रहरीलाई हप्काउँदै ठमेलमा गलत काम गर्न दिएको थिइनँ । त्यसको साटो गुण्डा भनेर उपाधि दिए ।’

‘ठमेलमा मैले गलत काम गरेको भए आज यसरी मेरो स्वागत हुँदैन थियो,’ मनाङ्गेले भने, ‘अधिकारका लागि मैले ठमेलमा जति पनि गरेँ त्यसको प्रतिफल व्यापारीले पाएका छन् ।’

ठमेलको इतिहासलाई जोगाउन व्यापारी एकजुट हुनुको विकल्प नरहेको सांसद मनाङ्गेको भनाइ छ ।

‘ठमेललाई २४सै घण्टा खोल्ने भनिएको छ, त्यो कत्तिको सही हो । त्यसमा व्यापारीले ध्यान दिएर कदम चाल्नुपर्छ,’ उनले भने, ‘राति खोल्ने भन्दै ठमेलबासी र होटलमा बस्ने पाहुनालाई असहज हुन भएन ।’

अधिकार प्राप्तिका लागि आन्दोलन गर्नुपर्ने भन्दै मनाङ्गेले भने, ‘आन्दोलन भन्दैमा तोडफोड हैन, शान्तिपूर्ण रुपमा आफ्नो माग राख्न पाइन्छ ।’
‘पाखुरा देखाएका भरमा काम हुँदैन, बाबुराम भट्टराई र प्रचण्डले पाखुरा देखाएर आन्दोलन गरेका थिएनन्, त्यसका लागि ज्ञान हुनुपर्छ,’ उनले भने । माओवादी कालमा पनि ठमेलबासी व्यापारी चन्दाको चपेटामा नपरेको भन्दै मनाङ्गेले ठमेलका व्यापारीलाई चन्दाको डर नरहेको बताए ।

कार्यक्रममा ठमेल पर्यटन परिषदका अध्यक्ष समिर गुरुङले ठमेलको विकासमा सांसद मनाङ्गेको महत्त्वपूर्ण भूमिका रहेको भन्दै आगामी दिनमा पनि मनाङ्गेको सहयोग हुनेमा विश्वस्त रहेको बताए ।