‘देखासिकी होइन नयाँ खोजीको ब्यवसाय गर्नुस्’

नेपाल जस्तो लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको मुलुकमा अहिलेको स्थायी सरकारले काम गर्न सक्ने आधार भएको भन्दै उनले विकास र समृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए ।

पोखरा । पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टिका अध्यक्ष बाबुराम भट्टराईले कुनै पनि ब्यवसायको देखासिकी गरेर भन्दा पनि ब्यवसायमा ‘इन्नोभेटिभ’ बाट अगाडि बढ्न सके त्यसबाट उचित प्रतिफल हासिल गर्न सकिने बताए । विहिबार पोखरा चेम्बर अफ कमर्श कास्कीको आयोजनामा उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजी क्षेत्रको भूमिकाको विषयमा आयोजित अन्तक्रिया कार्यक्रमा बोल्दै भटटराई कुनै पनि कार्यमा सृजनशिलता जरुरी हुने बताए ।

उद्यमशिलता र इन्नोभेशन विना कुनै पनि देशको विकास हुन नसक्ने भन्दै आज जति पनि मुलुकले समृद्धि हासिल गरेका छन् त्यहाँ फरकपन र प्रविधिको प्रयोगले सफल भएको बताए । नेपाल जस्तो लामो समय राजनीतिक अस्थिरताबाट गुज्रिरहेको मुलुकमा अहिलेको स्थायी सरकारले काम गर्न सक्ने आधार भएको भन्दै उनले विकास र समृद्धिलाई केन्द्रविन्दुमा राखेर काम गर्न सुझाव दिए ।

बहुमतको सरकारले यो अवसरको सदुपयोग गरेर राष्«िटय हितका लागि विकासलाई तिव्रता दिनु पर्ने उनको भनाई थियो । नीजी क्षेत्र र राज्य बीचको सम्बन्ध विपरीत ध्रुवको जस्तो भयो भने त्यसले मुलुकको अर्थतन्त्रलाई असर पार्ने भन्दै दुबै बीच आफसी साझेदारी र समझदारीबाट नीति बनाएर अघि बढ्नु पर्ने बताए । अहिले देशको राष्ट्रिय एजेण्डानै विकास र समृद्धि भएकाले विकास नीति के ? छिमेकको स्थिती के ? कुन रणनीति लिएर विश्व स्तरमा जाँदा सफल हुन सकिन्छ भन्ने विषयमा ध्यान दिनु पर्ने बताए ।

देशको कमजोर अर्थतन्त्रको कारणले ठुलाठुलो लगानी गर्न सक्ने अवस्था नभएको भन्दै भारत र चिनको जटिल भुराजनीतिबाट बाहिरी देश पनि लगानी गर्ने प्रेरित हुन नसकेको अवस्थामा देशभित्रै भौतिक र सामाजिक पुर्वाधारलाई जोड दिएर जानु पर्ने उनको भनाई थियो । उनले आन्तरिक र बाह्य बजारको पहिचान गरेर उत्पादनलाई जोड दिएर अघि बढ्न सुझाव दिए ।

देशको श्रमशक्ति विदेशीनु बाट रोकेर प्रविधिमैत्री वातावरण मार्फत लगानीका क्षेत्र पहिचान गर्नु पर्ने बताए । कतिपय अवस्थामा नीजि क्षेत्रका ब्यक्तिबिच पनि प्रतिष्पर्धी क्षमताको अभावले पनि ब्यवसायमा नयाँ पन आउन नसकेको उहाँको जिकिर थियो । राज्य लामो समय अस्थिरतमा गुज्रिएकाले दिर्घकालिन सोचका साथ सापेक्षतालाई हेरेर त्यसको अध्ययनबाट प्राथमिकतामा लगानी गर्न आग्रह गरे ।
मुलुक कृषिअर्थतन्त्रबाट उद्योग सेवा क्षेत्रमा भर्खर पर्दापण गरेको अवस्थामा राज्य सबै क्षेत्रमा हात हाल्यो भने सफल हुन नसक्ने भन्दै नीजि क्षेत्रले सहयोगीको भुमिका खेलेर देशको अर्थतन्त्र उकास्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा च्याम्बरका अध्यक्ष किसान सुनारले व्यवसायी लगानी गर्न उत्सुक रहेको तर लगानी मैत्री वातावरणको अभाव र बजारको पहिचानमा पनि समस्या देखिएकाले विज्ञहरुको सुझाव आवश्यक रहेको बताए । अनुभवी र विश्व अर्थतन्त्र अध्ययन गरेका ब्यक्तिहरुको अनुभवले ब्यवसायीकालागि मार्ग निर्देश हुने विचार राखे । कार्यक्रममा बस्तुगत तर्फका उपाध्यक्ष यामनाथ पौडेलले राज्यको नीजि क्षेत्र प्रतिको नीति स्पष्ट नभए सम्म ब्यवसायी लगानीका लागी अग्रसर हुन नसकेको बताए ।