माथिल्लो त्रिशुली–१ र प्राधिकरणबीच विद्युत खरिद सम्झौता हुने

नेपाल विद्युत् प्राधिकरणले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग अमेरिकी डलरमा भुक्तानी गर्नेगरी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणले २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–१ जलविद्युत् आयोजनाको प्रवद्र्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनीसँग अमेरिकी डलरमा भुक्तानी गर्नेगरी विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ । बुधबारको प्राधिकरण सञ्चालक समिति बैठकले माथिल्लो त्रिशुली १ को पीपीए गर्ने निर्णय गरेपनि कम्पनीले ‘परफर्मेन्स ग्यारेन्टी’बापतको २१ करोड ६० लाख रुपैयाँ बुझाएपछि मात्र पीपीएमा हस्ताक्षर हुनेछ ।

प्राधिकरणले आयोजनाको विद्युत् सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसा प्रतियुनिट खरिद गर्ने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ । तर, आयोजना सम्पन्न हुँदा सम्पत्तिमा प्रतिफल (रिटर्न अन इक्विटी) १७ प्रतिशतभन्दा बढी भएमा भने विद्युत् खरिद दर पनि कम हुनेछ । रन अफ रिभर आयोजनाका लागि १६ मङ्सिरबाट १५ जेठसम्मको अवधिलाई सुख्खायाम र १६ जेठदेखि १५ मङ्सिरसम्मको अवधिलाई वर्षायाम मानिने प्राधिकरणले जानकारी दिएको छ ।

माथिल्लो त्रिशुली–१ सँग अधितकम दश वर्ष वा व्यावसायिक विद्युत् उत्पादन सुरु दिन (सीओडी) देखि ऋण चुक्ता अवधि (पे–ब्याक पिरियड) जुन अघि हुन्छ त्यही मितिसम्म मात्रै डलरमा पीपीए हुने प्राधिकरणले उल्लेख गरेको छ । तोकिएको अवधि सकिएपछि भने नेपाली रुपैया“मा भुक्तानी हुनेछ । पीपीए गरिने दिनका लागि नेपाल राष्ट्र बैङ्कले तोकेको डलरको सटही मूल्यलाई स्थिर राखिने प्राधिकरणले जनाएको छ । स्वदेशी लगानीमा निर्माण हुने आयोजनालाई जस्तै माथिल्लो त्रिशुली–१ लाई पनि वार्षिक ३ प्रतिशतका दरले ८ ओटा साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने व्यवस्था गरिएको छ ।

आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैङ्क समूहअन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाली लगानीकर्ताहरु संलग्न छन् । यसअघि २०७३ पुस १४ मा ऊर्जा मन्त्रालय र कम्पनीबीच आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । विदेशी लगानीमा निर्माण हुने आयोजनामा लगानी संरचनाको सीमा पनि निश्चित गरिएको छ । यस्ता आयोजनामा स्वपुँजी (इक्विटी)को अंश न्यूनतम २० प्रतिशत र ऋणको अंश अधिकतम ८० प्रतिशत तोकिएको छ ।

राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी अवधारणापत्र २०७२ मा भएको व्यवस्थाअनुसार नै आयोजनाको पीपीए डलरमा हुन लागेको हो । प्राधिकरणले अवधारणापत्र बमोजिम ऊर्जा मन्त्रालयले डलर पीपीए गर्न सिफारिश गरेकाले माथिल्लो त्रिशुली–१ सँग पीपीए हुन लागेको जनाएको छ । प्राधिकरणले विदेशी लगानीमा निर्माण हुने १०० मेगावाटभन्दा ठूला आयोजनास“ग विदेशी ऋणको अंशका लागि मात्रै अमेरिकी डलरमा भुक्तानी गर्ने गरी नेपाली मुद्रामा पीपीए गर्ने नीति लिएको छ ।

प्राधिकरणकाअनुसार माथिल्लो त्रिशुली–१ सँग डलरमा पीपीए गर्दा विदेशी मुद्रा विनिमय जोखिम वहन गर्न एक कोष स्थापना गरिने छ । नेपाली मुद्रा अवमूल्यनका कारण प्राधिकरणलाई अतिरिक्त व्ययभार परी प्राधिकरणको वित्तीय स्वास्थ्यमा पर्ने जोखिम न्यूनीकरण गर्न ‘हेजिङ फण्ड’ स्थापना गरिने छ भने नेपाल राष्ट्र बैङ्कले ‘हेजिङ फण्ड’को स्थापना, सञ्चालन र नियमनको ढाँचा तयार गर्नेछ । हेजिङ लागत÷प्रिमियम नेपाल सरकार, प्राधिकरण र प्रवद्र्धकले संयुक्तरुपमा व्यहोर्ने व्यवस्था रहेको प्राधिकरणले उल्लेख गरेको छ ।

यसअघि प्राधिकरणले खिम्ती (६० मेगावाट) प्रतियुनिट १० रुपैयाँ ९५ पैसा, माथिल्लो भोटेकोशी (४५ मेगावाट) ११ रुपैयाँ १६ पैसा र माथिल्लो मस्र्याङ्दी ए (५० मेगावाट)को ७ रुपैयाँ ३५ पैसाका दरले डलरमा भुक्तानी गर्नेगरी पीपीए भएको छ । त्यसैगरी कोबेली ए (३७.६ मेगावाट), रसुवा–भोटेकोशी (१२० मेगावाट) र तल्लो सोलु (८२मेगावाट)को पनि डलरमा भुक्तानी गर्नेगरी पीपीए भएको छ ।