सम्मेलन आयोजनाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिवार योजना शाखाका प्रमुख कविता अर्यालले परिवार योजना २०२० मा नेपालले गरेको प्रतिबद्धता र परिवार योजनामा सबैको सहभागिता सुनिश्चितताका विषयमा छलफल हुने जानकारी दिइन् ।
काठमाडौँ । ‘परिवार योजनाः सेवाको पहुँचबाहिर परेकालाई समेट्ने’ भन्ने नाराका साथ राष्ट्रिय परिवार योजना सम्मेलन आगामी चैत ४ र ५ गते काठमाडौंमा आयोजना हुने भएको छ ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाद्वारा आयोजित सो सम्मेलनमा यस क्षेत्रमा कार्यरत करिब दुई सय प्रतिनिधिको सहभागिता रहने छ । संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (यूएनएफपीए)को आर्थिक एवम् प्राविधिक सहयोगमा आयोजना हुने सो प्रथम सम्मेलनले आगामी दिनमा परिवार योजना कार्यक्रममा पहुँच बढाउन, सेवा विस्तार गर्न कोशेढुङ्गाको काम गर्ने विश्वास गरिएको छ ।
सम्मेलन आयोजनाका बारेमा जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा परिवार योजना शाखाका प्रमुख कविता अर्यालले परिवार योजना २०२० मा नेपालले गरेको प्रतिबद्धता र परिवार योजनामा सबैको सहभागिता सुनिश्चितताका विषयमा छलफल हुने जानकारी दिइन् ।
यूएनएफपीएका अनुसार सन् १९९६ मा सरदर प्रजननदर ४.६ रहेकोमा सन् २०१६ मा २.३ मा झरेको छ । यसैगरी परिवार नियोजनका साधन प्रयोगदरमा खासै उल्लेख्य सुधार हुन सकेको छैन । पछिल्लो तथ्याङ्कअनुसार परिवार नियोजनका साधन प्रयोगदर ५३ प्रतिशत मात्र छ । तर आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्नेको सङ्ख्या ४३ प्रतिशतभन्दा माथि उक्लिन सकेको छैन ।
सरकारले परिवार योजना कार्यक्रमलाई उच्च प्राथमिकता दिँदै आएको छ । तर पनि कार्यक्रम किशोर किशोरी तथा युवा, सुत्केरी महिला तथा सीमान्तकृत समुदायको पहुँचमा पुग्न सकिरहेको छैन । सम्मेलनले परिवार नियोजनको साधनको प्रयोग बढाउन नयाँ रणनीति तय गर्न सहयोग पुग्ने विश्वास आयोजकले राखेका छन् ।