बाँकेको खजुरामा रहेको कपासदेखि बाराको सिमरामा रहेको प्रशोधन केन्द्र सञ्चालनका लागि लगानीकर्ताबाट आशयपत्र माग्ने तयारी भएको उनले बताए ।
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बाँकेको कपास विकास समितिदेखि सिमराको तयारीपोशाक प्रशोधन केन्द्र सञ्चालनमा ल्याउने तयारी सुरु भएको बताएका छन् । बाँकेको खजुरामा रहेको कपासदेखि बाराको सिमरामा रहेको प्रशोधन केन्द्र सञ्चालनका लागि लगानीकर्ताबाट आशयपत्र माग्ने तयारी भएको उनले बताए ।
उद्योग मन्त्रालयले यसका लागि तयारी गरिरहेको र केही दिनभित्रै आशयपत्र माग्ने जानकारी उनले दिए । नेपाल तयारीपोशाक उद्योग संघको २८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले बन्द र रुग्ण अवस्थामा रहेका कपडा र धागोलगायत सञ्चालनको तयारी भएको जानकारी दिए ।
उनले बन्द र रुग्ण उद्योग सञ्चालन र व्यवस्थापनका लागि सरकारले चलअचल सम्पत्ति उपयोग गर्नेगरी आशयपत्र माग हुने अवस्थामा रहेको बताए । उनले बन्द अवस्थामा रहेको हेटौडा कपडा उद्योग र वुटवल धागो कारखाना पनि सञ्चालनमा ल्याउने जानकारी दिए ।
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योग तयारीपोशाक भएको बताउदै उनले मूल्य अभिवृद्धि गर्न सुझाए । नेपालमा उत्पादन भएको कपडालाई सेना, प्रहरी, सरकारी कर्मचारी र अस्पताललगायत युनिर्फम आवश्यक पर्ने संस्थामा अनिवार्य खरिदका लागि सार्वजनिक खरिद नियमावलीमा परिमार्जन गर्न लागेको समेत उनले सुनाए ।
निर्यात अनुदान मूल्य अभिवृद्धिको हिसावले राख्न लागिएको बताउदै उनले जति बढी मूल्य अभिवृद्धि हुन्छ त्यत्तिनै अनुदान दिन र जति श्रम हुन्छ धेरै करका दरमा छुट दिन सरकार तयार रहेको उनले जानकारी दिए । तयारीपोशाकले ३० प्रतिशत बढी मूल्य अभिवृद्धि गर्नुपर्ने आवश्यकता औल्याए । ५० प्रतिशत माथि गरेमा ५ प्रतिशत अनुदान पाउने गरेको अर्थमन्त्रीको भनाई थियो । उनले कपडामा देखिएको समस्या समधान गर्दै विद्युत महशुल र आय कर छुट दिन तयार भएको जानकारी दिए ।
सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उत्पादनमुलक तयारीपोशाक उद्योगलाई प्रवद्र्धन गर्न सहुलियत आवश्यक भएको बताए । भैरहवामा तयारीपोशाक प्रशोधन केन्द्र स्थापना गर्न सरकारको ध्यानकर्षण गरेका छन् ।