आईपीओ निष्कासन प्रयोजनका लागि उद्योगले सार्वजनिक गरेको ३ वर्षको वित्तीय विवरणमा नाफाबाट सेयरधनीले प्रतिकित्ता न्यूनतम १५ देखि अधिकतम २० रुपैयाँसम्म मात्र नगद लाभांश पाउने देखिएको छ ।
काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले प्रिमियम मूल्यमा निष्कासन गरेको साधारण सेयर (आईपीओ) किन्दा लगानीकर्ताले पाउने लाभांश न्यून हुने देखिएको छ । उद्योगले प्रिमियम मूल्यमा प्रतिकित्ता ३०० रुपैयाँमा सोमबारदेखि ४४ लाख कित्ता आईपीओ निष्कासन गर्दैछ ।
आईपीओ निष्कासन प्रयोजनका लागि उद्योगले सार्वजनिक गरेको ३ वर्षको वित्तीय विवरणमा नाफाबाट सेयरधनीले प्रतिकित्ता न्यूनतम १५ देखि अधिकतम २० रुपैयाँसम्म मात्र नगद लाभांश पाउने देखिएको छ ।
प्रतिकित्ता २० रुपैयाँ नगद लाभांशलाई आधार मान्दा ३०० रुपैयाँमा किनेको शिवमको आईपीओले ६ रुपैयाँ ६६ पैसा मात्र प्रतिफल दिने उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ । वाणिज्य बैङ्कमा मुद्दती निक्षेप राख्दा पनि साढे ९ प्रतिशत ब्याज दिइरहेका छन् । शिवमले दिने प्रतिफल बैङ्कले दिनेभन्दा धेरै कम छ ।
उद्योगले चालू आर्थिक वर्षमा गरेको नाफाबाट योभन्दा पनि कम लाभांश पाउने देखिएको छ । चालू आर्थिक वर्षमा गरेको नाफाबाट प्रतिसेयर १५ रुपैयाँ नगद लाभांश दिने जानकारी दिएको छ । उद्योगले चालू आर्थिक वर्षमा १ अर्ब ४३ करोड ९७ लाख रुपैयाँ खुदनाफा गरेर सेयरधनीलाई सोबराबर नगद लाभांश दिने जानकारी गराएको हो ।
वित्तीय विवरणमा आगामी आर्थिक वर्ष र आर्थिक वर्ष ०७७/०७८ मा पनि प्रतिसेयर २० रुपैयाँका दरले नगद लाभांश दिने प्रक्षेपण गरेको छ । आगामी आर्थिक वर्षमा नाफा २८.६० प्रतिशत बढेर १ अर्ब ८५ करोड १४ लाख पुग्ने अनुमान उद्योगको छ । यस्तै आर्थिक वर्ष ०७७/०७८ मा खुदनाफा १३.५८ प्रतिशत बढेर २ अर्ब १० करोड २७ लाख रुपैयाँ पुग्ने छ ।
गत आर्थिक वर्षमा गरेको नाफाबाट कम्पनीले सेयरधनीलाई प्रतिसेयर १० रुपैयाँ ५३ पैसा नगद लाभांश वितरण गरेको थियो । गत आवमा शिवमले १ अर्ब १४ करोड ३९ लाख रुपैयाँ खुदनाफा गरेको थियो ।
कम्पनीले प्रिमियम मूल्यमा सेयर निष्कासन गरेकाले सेयर लगानीकर्ताले बहिष्कार गर्नुपर्ने बताएका छन् । सेयर लगानीकर्ता नवराज घिमिरेले १०० रुपैयाँमा बेच्नुपर्ने सेयर ३०० रुपैयाँमा बेच्न लागेको भन्दै सेयर बहिष्कारका लागि आह्वानसमेत गरेका छन् । प्रिमियम मूल्यमा किनेको सेयरको प्रतिफल ज्यादै न्यून आउने उनको विश्लेषण छ ।
कम्पनीले चालू आर्थिक वर्षमा कुल आम्दानी ६.६४ प्रतिशत बढेर १० अर्ब ९५ करोड ६५ लाख रुपैयाँ पुग्ने अनुमान गरेको छ । यस्तै आगामी वर्ष १५.२५ प्रतिशत बढेर १२ अर्ब ६० करोड ८६ लाख र ३ वर्षमा बढेर २.४१ प्रतिशत बढेर १२ अर्ब ६४ करोड ९९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ । गत आर्थिक वर्षमा उद्योगले १० अर्ब २६ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
उद्योगले सर्वसाधारणलाई प्रतिकित्ता ३०० र उद्योग प्रभावित स्थानीय बासिन्दालाई प्रतिकित्ता २०० रुपैयाँ मूल्यमा ४४ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । साधारण सेयर निष्कासन गरी बाँडफाँट गरेपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ हुनेछ ।
उद्योगले सर्वसाधारणको प्रिमियम मूल्य ४०० बाट घटाएर ३०० र आयोजना प्रभावित स्थानीय बासिन्दालाई ३०० बाट २०० रुपैयाँ कायम गरेको छ । २ अर्ब २ करोड ४० लाख रुपैयाँ एनआईबीएल एस क्यापिटल लिमिटेडबाट प्रत्याभूति गराइएको छ । आईपीओ निष्कासनबाट सङ्कलन हुने २ अर्ब २ करोड ४० लाख रुपैयाँ विभिन्न बैङ्कबाट लिइएको कर्जा चुक्ता गर्ने उद्योगले जनाएको छ ।