नेपालको धागो लिन बङ्गलादेशले राख्यो सर्तैसर्त, आयात रोक्ने कडी

बङ्गलादेशको राजस्व बोर्डले सन् २०१५ मा सूचना प्रकाशित गरी नेपालको धागो ल्याउन प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपाल सरकार तथा उद्योगीले पटक–पटक बङ्गलादेश सरकारलाई धागोको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए ।

काठमाडौं । पूरा गर्न नसकिने सर्तसहित नेपालको धागो लिन बङ्गलादेशले बाटो खुला गरेको छ । बङ्गलादेशले राखेका सर्त पूरा गरेपछि एक्रेलिक धागो मात्रै पठाउन सकिने छ ।

बङ्गलादेशको राजस्व बोर्डले सन् २०१५ मा सूचना प्रकाशित गरी नेपालको धागो ल्याउन प्रतिबन्ध लगाएको थियो । त्यसपछि नेपाल सरकार तथा उद्योगीले पटक–पटक बङ्गलादेश सरकारलाई धागोको प्रतिबन्ध फुकुवा गर्न आग्रह गरेका थिए ।

नेपालमा ठूलो परिमाणमा धागो बन्ने र त्यो धागो बङ्गलादेशमा सहज निर्यातका लागि बाटो खोल्न बङ्गलादेश सरकारलाई आग्रह गरिएको थियो । सरकार र व्यवसायीकोे आग्रहलाई बङ्गलादेशले स्वीकार गरे पनि धागो निर्यात गर्नै नसकिने गरी सर्त राखेको छ ।

दुईपक्षीय बैठक तथा छलफल तथा २०१८ मेमा काठमाडौंमा भएको वाणिज्य सचिवस्तरीय बैठकमा समेत प्रतिबन्ध चाँडै फुकुवा गर्ने सहमति भएको थियो । तर, अहिले बङ्गलादेशले ९ ओटाभन्दा बढी सर्त राखेर खुला गर्ने बताएको छ । जुन सर्त पूरा गर्न असम्भव हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

बङ्गलादेशले बङ्गलाबन्ध मार्गबाट नेपालको एक्रेलिक धागो ल्याउन कडा सर्त पूरा गर्नुपर्ने छ । बङ्गलादेशको राजस्व बोर्डका अध्यक्षको उपस्थितिमा भएको निर्णयअनुसार नेपालका ब्रान्डेड कम्पनीलाई मात्रै धागो निर्यातको बाटो खोल्ने, नेपालबाट निर्यात गरिएको धागोको कन्साइनमेन्टमा शङ्का लागेमा ल्याब टेस्टका लागि पठाउने, एक वर्षका लागि परीक्षण आयात खोल्ने, उत्पत्तिको प्रमाणपत्रलगायत डकुमेन्ट आयातकर्ताले अनलाइनबाट अगाडि नै पठाउनुपर्ने, नेपालमा धागो उत्पादन गर्ने कारखाना भए÷नभएको छानबिन गरी यकिन गर्ने, बङ्गलादेशका बङ्गबन्ध र बेनापोल आयात बिन्दुमा धागो काउन्ट मेसिन राख्ने, बङ्गलाबन्ध र बेनापोल आयात बिन्दुका सरोकारवालाहरु सम्मिलित आयात अनुगमन समिति बनाउने तथा अनुगमन समितिले ३१ जनवरी २०२० मा नेपालबाट आयात गरिएका एक्रेलिक धागोका बारेमा राष्ट्रिय राजस्व बोर्डमा प्रतिवेदन पेस गर्ने सर्त अघि सारेको छ ।

मन्त्रायका उच्च अधिकारीका अनुसार बङ्गलादेश सरकारले जुन सर्त राखेको छ, त्यसको मुख्य उद्देश्य नेपालको धागो बङ्गलादेश नलैजाने खेल हो । ‘यस्ता सर्त पूरा नगरे धागो निर्यात गर्न पाइँदैन्,’ ती अधिकारीले क्यापिटल नेपालसँग भने, ‘बङ्गादेशले राखेको सर्त पूरा गर्न सम्भव छैन ।’

उद्योगीका अनुसार बङ्गलादेशले नेपाली धागो आयातको बाटो सदाका लागि बन्द गर्न यस्तो सर्त राखेको हो ।

केही दिनअघि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बङ्गलादेशका परराष्ट्रमन्त्री र प्रधानमन्त्रीका सल्लाहकारलाई नेपालको धागोमा यस्ता सर्त नराख्न अनुरोध गरेका थिए । मन्त्री यादवले भनेका थिए, ‘तपाईंहरुले यस्ता सर्त राख्दा हामी मर्कामा पर्छौं,’ परराष्ट्रमन्त्रीसँग भएको कुराकानी उल्लेख गर्दै एक अधिकारीले भने, ‘निःशर्त नेपालको धागो बङ्गलादेश आउने बाटो मिलाउनु प¥यो ।’

मन्त्रालयका सहसचिव रविशङ्कर सैंजुले बङ्गलादेश सरकारले आधिकारिक रुपमा निर्णय नगरेको बताए । ‘राष्ट्रिय राजस्व बोर्डले मात्रै गरेको निर्णय हो, त्यो अन्तिम होइन,’ उनले भने । त्यहाँको सरकारले निर्णय गरेपछि मात्रै कार्यान्वयनमा आउने भएकाले नेपालले पहल गरिरहेको उनको भनाइ छ ।

त्यसैगरी नेपालस्थित बङ्गलादेशका राजदूतलाई बोलाएर यस विषयमा गम्भीर चासो राखेको सैंजुले बताए । भेटमा राजदूतले उक्त निर्णय बङ्गलादेश सरकारले गरेको नभई एउटा कमिटिले मात्रै गरेको निर्णय भएकाले यसको अर्थ नहुने बताए ।