सरकारको एक वर्षको काँग्रेसले गर्यो समीक्षा:  विदेशी लगानी घट्यो, व्यापार घाटा बढ्यो

पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो कांग्रेस नेतृत्वको सरकारको ५ महिनामा ११ अर्ब १२ करोड रुपैयाँमा विदेशी लगानी भित्रिएकोमा कम्युनिष्ट सरकार बनेपछि आधा घटेर झण्डै ६ अर्ब ७८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको जनाएको छ ।

काठमाडौ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारको एक बर्षको समीक्षा गर्दै विदेशी लगानी घटेको र व्यापार घाटा बढेको आरोप लगाएको छ । दुई तिहाइको सरकार बनेपछि विदेशी लगानी बढ्नु पर्ने अवस्थामा घटेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

पार्टी प्रवत्ता विश्वप्रकाश शर्माले आइतबार पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकको तथ्यांक सार्वजनिक गर्दै अघिल्लो कांग्रेस नेतृत्वको सरकारको ५ महिनामा ११ अर्ब १२ करोड रुपैयाँमा विदेशी लगानी भित्रिएकोमा कम्युनिष्ट सरकार बनेपछि आधा घटेर झण्डै ६ अर्ब ७८ करोड रुपैयाँको विदेशी लगानी भित्रिएको जनाएको छ ।

विदेशी मुद्राको सञ्चीति कांग्रेस सरकारको प्रथम ६ महिनामा १० खर्ब ६७ अर्ब थियो भने कम्युनिष्ट सरकारको प्रथम ६ महिनामा झण्डै १० अर्ब घटेर १० खर्ब ५८ अर्ब रुपैयाँमा सीमित भएको प्रवत्ता शर्माले उल्लेख गरे । विदेशी मुद्रा संचितीमा आएको गिरावटले ११ महिनाको आयात धान्ने अवस्थाबाट ८ महिना धान्ने स्थितिमा झरेको उनले जानकारी दिए ।

यस्तै कांग्रेस नेतृत्वको सरकारको प्रथम ६ महिनामाको तुलनामा कम्युनिष्ट सरकारको ६ महिनामा व्यापार घाटा भण्डै २ खर्ब रुपैयाँले बढेको काँग्रेसको भनाई छ । काँग्रेसको सरकार हुँदा व्यापार घाटा ४ खर्ब ९३ करोड थियो भने अहिले बढेर ६ खर्ब ७८ करोड रुपैयाँ पुगेको जनाएको छ ।

यसैगरी सहज राजनैतिक वातावरण र दुई तिहाईको स्थिर सरकार भएको समयमा बजार मूल्य नियन्त्रित हुनु पर्नेमा शुरुवाती ६ महिनामा तुलानात्मक रुपले कांग्रेस सरकारको पालामा भन्दा एकातर्फ बजार भाउ वृद्धि भएको छ भने अर्कातर्फ तरकारी किसानहरुले बजार मुल्य उपयुक्त नपाएर बारीमै ट्याक्टर लगाएर तरकारी नष्ट गरेको पीडाका दृष्य र समाचार सार्वजनीक भएको भन्दै सरकारको आलोचना गरेको छ ।
यस्तै शोधानान्तर घाटा चुलिएको टिप्पणी काँग्रेसले गरेको छ । कांग्रेस सरकारको शुरुवाती पाँच महिनामा ९ अर्ब रुपैयाँ रहेको शोधानान्तर घाटा वर्तमान सरकारको पाँच महिनामा ८५ अर्ब रुपैयाँ नाघेको छ । अर्थतन्त्रको ‘पल्स’ मानिने सेयर बजार यो सरकार आएपछि क्रमश धाराशायी हुँदै गएको निश्कर्ष काँग्रेसको छ ।

स्थानीय चुनावको मुखमा नेप्से १ हजार ७०० कटेको थियो । पछि १ हजार ५२० मा रहेकोमा फागुन २ मा आइपुग्दा १ हजार ११२ अंकमा झरेको काँग्रेसले जनाएको छ ।